“पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो”, मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरुङले विगत सम्झिँदै भने ।

जङ्गलमा गएर सल्लाका रुख काटी फल्याक बनाएर घर बनाइने प्रचलन हराउन थालेको उनी बताउछन् । “जस्ताको घर बनाए पनि पानी चुहिन्छ । घर पनि चिसो अनि हिउँ पर्दा झन् चिसो हुन्छ । पुराना माटो र सल्लाका काठले बनेको घर न्यानो अनि सुरक्षित थियो । अहिले त फेरिएको छ । यहाँको स्वरूप पनि फेरिन थालिसक्यो”, उनी भन्छन् । पहिले माटो र काठले बनेको घरहरू अहिले कङ्क्रिटको मात्र बन्न थालेका छन् ।

पानी नै नपर्ने मनाङमा अहिले पानी पर्न थालेको छ । काठ र माटोले मात्र बनेको घरमा बस्न मिल्दैन । “पहिले तल्लो मनाङमा मात्रै पानी परेको थाहा पाइन्थ्यो । अहिले त माथिल्लो मनाङमा पनि पानी पर्छ”, उनले भने, “हामीले सानैदेखि यहाँ पानी परेको थाहा पाएका थिएनौँ । अहिले पानी पर्न थालेपछि पुराना घर मासिँदै गयो ।”

करिब पाँच वर्ष अगाडिसम्म यहाँ माटो, काठले छाएका घर भेटिन्थे । तर, अहिले पुराना घर मासिँदै गएको छ । स्थानीयवासीका अनुसार यहाँका घर बनाउँदा घरको बिमलाई याकचौैँरीको सिङ्ले बाँधेर कडा बनाइन्थ्यो ।

पुराना घर संरक्षण गर्नुपर्ने हो । तर, जलवायु परिवर्तनसँगै यहाँ पानी पर्न थालेको अनुमान स्थानीय गर्छन् । पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङ भन्छन्, “पर्यटकीय हिसाबले यस क्षेत्रका पुराना घर संरक्षण गर्नु आवश्यक छ । तर, पहिले पानी नै नपर्ने स्थानमा पानी पर्न थालेपछि सुरक्षाका लागि पनि पुराना माटो र काठका घर मास्न बाध्य छौँ ।” गत वर्ष वर्षाकै कारण माटो र काठको घर भत्किँदा मानवीय क्षति भएको उनले बताए ।

पहिले एकै ठाउँमा झुप्पा परेका घर बनेका हुन्थे । तर बिस्तारै कङ्क्रिटका घर अग्ला र जस्तापाताले छाएर बनाउन थालिएका छन् । मनाङ ङिस्याङ गाउँपालिका–९ का निवर्तमान अध्यक्ष रिन्जेन दार्जे गुरुङ भन्छन्, “यहाँका झुप्प परेका घर पर्यटकको रोजाइ थियो । अहिले उत्तिकै आकर्षक मानिन्छन् । तर, मौसमी अनुकूलताले परिवेश फेरिँदै गएको छ । पुराना घर अस्तित्वको रूपमा रहेका मनाङका पहिचान गुमाउनुपर्ने अवस्थामा पुगेका छौँ ।” पर्यटकले यहाँका घरका बिममा याकका सिंङले बाँधेको हेर्ने गर्थे । अहिले बिस्तारै त्यस्ता घर पाइन छोडेको हो ।

माटो र काठका घरले थेग्न नसकेपछि यहाँ जस्ता र सिमेन्ट प्रयोग गरी घर बनाउन थालिएको हो । मौसमी परिवर्तनले कङ्क्रिटको घर बनाएर हिटर जडान गर्न बाध्य बनाएको गाउँले बताउँछन् । गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङ पर्यटकीय स्थान भएकाले पुराना संरचनाको संरक्षण हुने गरी घर निर्माणलाई जोड दिनुपर्ने बताउछन् ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेञ्जिङ लामा हालसम्म मोटर बाटो नपुगेका ठाउँमा जस्तापाताको प्रयोग गरेर घर बनाउन बाध्य भएको बताउछन् । उनले भने, “माटो र काठको घरको छानामा हिउँ बस्थ्यो । हिउँ फालेर बस्ने गरिन्थ्यो । अहिले पानी पर्ने क्रम बढेसँगै नार गाउँमा जस्ता र सिमेन्ट प्रयोग बढेको छ ।”

मनाङको मौलिकता संरक्षणका लागि प्राथमिकता दिन गाउँवासीलाई अनुरोध गरिएको उनी बताउछन् । नार गाउँमा जस्तापाता र काठको घर निर्माण हराउन थाले पनि फु गाउँमा भने पुराना घरहरू छन् । तर, पानी पर्ने क्रम बढेसँगै जोखिम बढ्दो छ ।

मनाङको घरबास सञ्चालन भएको क्षेत्र नासोँ गाउँपालिका–८ ताचै गाउँका पुराना घर मासिँदै गएका छन् । मनाङको प्रवेशद्वारमा बनेका घरकोस्वरुप परिवर्तन हुँदै आएको छ । नासोँ–८ का निवर्तमान अध्यक्ष हुपजङ्ग गुरुङ भन्छन्, “सुरक्षित बसोबासका लागि पनि यहाँको घर बनाउँदा जस्ता प्रयोग गर्न बाध्य छन् । काठ र माटो प्रयोग घट्दै गएको छ । पर्यटकीय क्षेत्र भएकाले स्वरूप उस्तै देखिने गरी घर निर्माण गर्न अनुरोध गरिएको छ ।”

जलवायु परिवर्तनले यहाँ अनावृष्टि र अतिवृष्टि हुने क्रम बढेको छ । यसले गर्दा यहाँ बाढी पहिरो, पानी पर्ने क्रम बढ्दो छ । यहाँका ताचै, तिल्चे, थोंचे, दानाक्यु, ओडार गाउँ, थानचोक, माथिल्लो मनाङ, पिसाङ, हुम्डे, नार, फु, मनाङ गाउँ, खाङ्सार लगायतका गाउँका मौलिकता आधुनिक घर निर्माणसँगै फेरिँदै गएका हुन् ।

बिहिबार, ३१ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !