शुक्लाफाँटा नगरपालिका–३ की वसन्ती चौधरी खयरकन्द्रा घरबास (होमस्टे)की सञ्चालक हुन्। घरबास सञ्चालनका लागि अतिथि सत्कार गर्ने कार्यमा उनी निपुण भएकी छन्। पाहुना आएपछि उनी घरबास सञ्चालक महिलासँगै परम्परागत पहिरनमा सजिएर हसिलो मुहारमा फूलमाला र अबिर लिएर सत्कार गर्नका लागि तम्तयार भएर बस्छन्।

एकपटक घरबासमा पुगेका पाहुना थारू महिलाको सेवा, सत्कार गर्ने बानी देखेर पुनः फर्केर आउने गरेका छन्। वसन्तीले घरबास सञ्चालनका लागि तालिम लिएपछि दक्ष बनेकी हुन्। उनीजस्तै खयरकन्द्रा सामुदायिक घरबासमा आठ परिवार आबद्ध छन्। सबै परिवारका सदस्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, तारागाउँ विकास समिति र मितजी ग्रुपलगायत संस्थाबाट घरबास सञ्चालनबारे तालिम लिएका छन्।

सबै परिवारका सदस्यले पाहुनालाई सत्कार गर्ने, पाहुनाको चाहनाअनुसार मौलिक परिकार बनाएर खुवाउने, परम्परागत गीत र नृत्य देखाउने गर्दछन्। त्यो सबै कार्य तालिम लिएपछि सम्भव भएको सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर डगौरा बताउँछन्।

“धेरै पाहुना बाह्य जिल्लाबाट सामुदायिक घरबास हेर्नका लागि र यस क्षेत्रको मनोरम दृश्यसँगै थारू संस्कृति हेर्नका लागि पुग्ने गर्दछन्”, उनले भने, “थारू परिकारका पारखी पनि पुग्ने गर्दछन् ।”

कोरोना महामारीअघि घरबासमा पाहुना खचाखच भरिने गरेका थिए । “महामारी फैलिएपछि घरबासमा पाहुना आएनन्”, पुरनले भने, “धेरै दिन बन्द नै गर्नुपर्यो, महामारीको अन्त्यपछि पुनः पाहुना फाट्टफुट्टरूपमा आउन थालेका छन्, अझै पहिलाझैँ घरबासमा खचाखच पाहुना भरिने दिनको पर्खाइमा छौँ।”

उनका अनुसार घरबासमा आउने पाहुनालाई सामुदायिक भवनमा स्वागत गर्ने गरिएको छ। स्वागत कार्यक्रमपछि पाहुनालाई घरबास सञ्चालकले पालो मिलाएर घर–घरमा बस्ने व्यवस्था मिलाउने गरेका छन्।

पाहुनाको चाहनाअनुसारका परिकार खुवाइसकेपछि उनीहरूकै इच्छामा परम्परागत नृत्य देखाउने गरिन्छ। नृत्यपछि पाहुना घरबासमा सुत्नका लागि जाने गरेका छन् । पाहुनाबाट परिकारअनुसारको शुःल्क लिइने गरिएको छ।

“पाहुनालाई थारू संस्कृति, रहनसहनबारे जानकारी दिनका लागि गाउँ डुलाउने व्यवस्था पनि गर्न थालेका छौँ”, घरबास सञ्चालक टीकुराम दहितले भने, “बूढापाकाबाट संस्कृतिबारे जानकारी दिन्छौँ, परम्परागत पहिरन, खानपान, रहनसहनबारे जानकारी दिन्छौँ, यस कार्यले थारू समुदायबारे सोध, अनुसन्धान गर्नेलाई सहयोग पुग्छ।”

गाउँ नजिकै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको खयरकन्द्रा तालको मनोरमदृश्य नियाल्नका लागि निकुञ्ज कार्यालयसँग समन्वय गरी घुमाउने प्रबन्धका लागि कार्य अगाडि बढाइएको उनी बताउँछन्। घरबास सञ्चालकले पहिला पाहुना भित्र्याएर महिनामा रु ३० हजारदेखि रु ५० हजारसम्म आम्दानी गर्दै आएका थिए।

“कोरोनाका कारण घरबास सञ्चालकले निकै घाटा व्यहोर्नुपर्यो”, गाउँका बडघर रामप्रसाद चौधरीले भने, “कोरोनापछि हाल वर्षमा रु ५० हजार जति आम्दानी हुन थालेको छ, घरबास प्रवर्द्धनका लागि सरकारी निकायले अनुदानको व्यवस्थासँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ ।” गतिलो सडक पूर्वाधार नहुँदा पर्यटकलाई यहाँसम्म पुग्न सकस हुने गरेको उनको भनाइ छ।

“सामुदायिक घरबाससम्म पुग्न सडक कालोपत्र गर्नका लागि नगरपालिकासँग माग गर्दै आएका हौँ”, उनले भने, “नगरप्रमुखलाई यसबारे अवगत गराउनुका साथै अवलोकन गराएका हौँ, अहिलेसम्म अश्वासनबाहेक अरु केही पाउन सकेको छैन।”

सामुदायिक घरबास सञ्चालक समितिका सचिव दानसिंह दहितका अनुसार हालसम्म घरबासको जग्गा खरिद र सामुदायिक भवन निर्माणका लागि वडा कार्यालयबाट रु दुई लाख, तारागाउँ विकास समितिबाट रु चार लाख, राष्ट्रिय प्रकृति संरक्षण कोषबाट रु १३ लाख र सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट रु ३० लाख सहयोग गरिएको छ।

“जग्गा खरिद र भवन निर्माणकार्य पूरा भए पनि घेराबार, पर्खाल निर्माणका लागि रकम अभाव छ”, उनले भने, “परम्परागत नृत्य गर्ने महिलाका लुगा चाजाँपाजो मिलाउने कार्यसँगै फर्निचरको व्यवस्थापन गर्न आवश्यक रकमको अभाव छ।”

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि घरबास सञ्चालनमा लागेकालाई गैससको सहयोगमा नगरपालिकाका तर्फबाट सातदिने तालिम दिइएको नगरउपप्रमुख कल्पना पन्तले बताइन्।

“तालिम दिएपछि घरबास सञ्चालकको कार्यक्षमतामा वृद्धि भएको छ”, उनले भनिन्, “घरबासमा पूर्वाधार निर्माण, सौन्दर्यकरण, पर्यटकीय क्षेत्रको विकासका लागि कार्य अगाडि बढाएका छौँ ।” पर्यटन बोर्डसँगको लागत साझेदारीमा पर्यटकीय क्षेत्रसँगै घरबास सञ्चालकलाई फाइदा पुग्ने गरी कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ थियो।

उनका अनुसार वडा नम्बर ३ मा खयरकन्द्रा सामुदायिक घरबास सञ्चालनमा रहेको छ भने वडा नं ७ मा कृष्णसार सामुदायिक घरबास विधिवत रुपमा दर्ताभई सञ्चालनको तयारीमा छ। वडा नं ८ मा घरबास सञ्चालनको तयारी गरिएको छ । पर्या पर्यटन प्रवद्र्धनका लागि नगरपालिका क्षेत्रभित्रका दर्शनिय पर्यटकीय स्थलहरुको अबलोकन गराउने व्यवस्था गराइने उनको भनाइ छ।

शनिबार, ३० मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !