Trending
पछिल्लो समय बागलुङमा नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन् ।
नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटो बाटोसमेत बनेका छैनन् । यद्यपि आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन् । बागलुङ बजार नजिकै रहेको भिरलाँकुरी, निसीखोलाको टाकुरा, तमानखोलाको बराह ताल, नेवारे झरना, नौ बहिनी झरना, ढोरपाटनको जलजलालगायतका ठाउँ पछिल्लो समय चर्चामा आउन थालेका छन् । यी पर्यटकीय ठाउँमध्ये अधिकांशमा अहिले पनि पूर्वाधार बन्न सकेका छैनन् । पर्यटनका हिसाबले बागलुङले सम्भावना बोकेको छ, तर प्रचार–प्रसार र आवश्यक पूर्वाधार निर्माण ढिलाइ गर्दा सोचेअनुसार पर्यटक भित्र्याउन सकेको छैन ।
तीन राष्ट्रिय सडकले जोडिएको बागलुङले बाह्य पर्यटक भने निकै कम मात्रामा भित्र्याउने गरेको छ । ढोरपाटन सिकार आरक्षबाहेक अन्य ठाउँमा विदेशी पर्यटक आएको खासै पाइँदैन । पछिल्लो समय बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा फाट्टफुट्ट बाह्य पर्यटक देख्न थालिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले पूर्व–पश्चिम, कालीगण्डकी करिडोरले चीन–भारत र सालझण्डी–ढोरपाटनले तराई–पहाडलाई जोडेको छ । विगतका वर्षमा भन्दा यस वर्ष पर्यटन यामको सुरुआतमै उल्लेख्य पर्यटक बागलुङमा भित्रिएको र नयाँ ठाउँमा पुग्न थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताए ।
पहिलेको तुलनामा पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ्दै जाँदा ओझेलमा रहेका पर्यटकीय ठाउँ चर्चामा आउन थालेको उनको भनाइ छ । केही वर्ष अगाडिसम्म पर्यटकीय सम्भावना बोकेका ठाउँमा पुगे पनि त्यसलाई कसैले पनि बाहिर नल्याएको भन्दै अहिले पुग्ने हरेक व्यक्तिले फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै ठाउँ चर्चित बन्दै गएको उनको भनाइ छ । नयाँ गन्तव्यलाई थप व्यवस्थित बनाएर प्रचार–प्रसार गरी पर्यटक भित्र¬्याउनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने अध्यक्ष खड्का बताउछन ।
बजार नजिकै भए पनि भिरलाँकुरी अघिल्लो वर्षसम्म गुनामनै थियो तर अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक पुग्ने गरेको पाइन्छ । बागलुङ बजारबाट हिँडेर करिब ४५ मिनेटमा पुग्न सकिने हुँदा धेरै मान्छे भिरलाँकुरी आउन थालेको स्थानीय सृष्टि आचार्यको भनाइ छ । यहाँबाट बागलुङ बजारसहित थुप्रै हिमशृङ्खला एकैपटक अवलोकन गर्न सकिने हुँदा आन्तरिक पर्यटक आउन थालेको उनले बताए । धेरैजसो पदयात्रामार्फत भिरलाँकुरी पुग्ने गरेको उनी बताउछन ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन उत्यकाको पूर्वपट्टि पर्छ जलजला । यहाँ पनि पछिल्लो समय धेरै पर्यटक पुग्ने गरेको स्थानीय वीरबहादुर घर्तीले बताउनुभयो । पहिले–पहिले जलजलामा पर्यटक पुग्ने गरे पनि गत वर्षदेखि अझ बढी जान थालेको उहाँको भनाइ छ । ढोरपाटन उपत्यकाबाट पाखाथर, छेन्तुङगाउँ हुँदै जलजला पुग्ने पर्यटकलाई मोटर बाटोले थप सहज बनाएको उनले बताए । खाने र बस्ने सुविधाका लागि होटल तथा रेष्टुरेन्ट बढ्दै गएपछि पर्यटक बढेको घर्ती बताउछन ।