Trending
केही समयअघि नेपाल पर्यटन बोर्ड (एनटीबी) ले प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२३ को सुरुको दुई महिना अर्थात् जनवरी र फेब्रुअरीमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १ लाख २८ हजार नाघेको छ ।
एनटीबीको सो तथ्यांकअनुसार सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने फेब्रुअरीमा चाहिँ ७३ हजार २ सय ५५ जना विदेशी पर्यटक नेपाल आएका छन् । यसरी हेर्दा सन् २०२३ को पहिलो दुई महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या १ लाख २८ हजार ३ सय २९ पुगेको छ ।
यो वर्ष अर्थात् सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या कम्तीमा पनि साढे ८ देखि ९/१० लाखसम्म पुग्न सक्ने देखिन्छ । तर, यो आँकडा सत्य साबित नहुन पनि सक्छ । किनभने बीचको छोटो समयमा नेपालमा कतिसम्म अन्तर्राष्ट्रिय हवाई यातायात विस्तार हुन सक्छ, त्यसमा पनि धेरै कुरा भर पर्छ । हुन पनि नेपालले यसबीचमा स्वीजरल्यान्ड, अमेरिका, कम्बोडिया, लाओस आदि देशसँग हवाई उडान गर्ने सम्झौता गरेको छ ।
तर, ती सम्झौता व्यवहारमा कहिलेदेखि लागू हुने हुन् ? केही टुंगो छैन । त्यस्तै गरेर कोरोना महामारीअघि उत्तरी छिमेकी राष्ट्र चीनबाट हुँदै आएका सबै उडान फेरि नियमित रूपमा सञ्चालन गर्नुका साथै चीनका ठूला सहरहरूमा अरू बढी उडान थप्न सके नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटक ठूलै संख्यामा बढ्ने थिए ।
अर्को कुरा, अहिले तत्कालै चिनियाँ ठूला सहरमा नेपालबाट थप हवाई उडान थप गर्न नसके तापनि तिब्बत भ्रमणमा आउने धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई सोभैm नेपालतिर भ्रमण गर्नका लागि आकर्षित गर्न सके नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकको संख्या पहिलेको भन्दा तेब्बर÷चौबरले बढोत्तरी हुन सक्ने देखिन्छ ।
गत वर्षको तथ्यांक हेर्ने हो भने विश्व पर्यटन सन् २०२२ देखि नै ‘जस्ट स्लो मोसन’मा उकालो लाग्न थालेको थियो । त्यस्तै, हाम्रो देशमा पनि सन् २०२२ देखि नै विदेशी पर्यटन आगमन दरमा प्रगति हुन थालेको मान्न सकिन्छ । जुन आगमन दर नेपाली पर्यटन व्यवसायीहरूका लागि अनपेक्षित ढंगको बढोत्तरी थियो ।
औपचारिक रूपमा हामीले बाहिर जे भन्ने गरेको भए पनि, जस्तो प्रचारप्रसार गरिएको भए पनि सन् २०२२ मा मुस्किलले बढीमा चार–साढे चार लाखसम्म विदेशी पर्यटक नेपाल भ्रमणमा आउलान् भन्ने अनुमान गरिएको थियो । तर, सो अनुमानविपरीत सन् २०२२ मा ६ लाख १४ हजार १ सय २८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जे भए तापनि अब हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या कसरी बढाउने भन्ने विषयका साथसाथै उनीहरूको नेपाल बसाइ अवधि र नेपाल बसाइको क्रममा उनीहरूले गर्ने दैनिक खर्चको सीमालाई पनि कसरी बढोत्तरी गर्ने भन्ने सम्बन्धमा हामीले विचार–मन्थन गर्नुपर्ने देखिन्छ ।
हुन त यो वर्षको पहिलो दुई महिनामा जस्तै बाँकी १० महिनामा पनि लगातार रूपमा तीन गुणाले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढेमा सन् २०२३ मा १९ लाख चानचुन विदेशी पर्यटक नेपाल भित्रिने देखिन्छ । तर, त्यस्तो हुने सम्भावना भने देखिँदैन । अब हामीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढाउनुका साथै गुणस्तरलाई पनि ध्यान दिँदै जानुपर्ने देखिन्छ ।
हुन पनि नेपालले मात्रै नभएर आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटक पैसा खर्च गर्न सक्ने हुन् भन्ने प्रयास विश्वभरिका देशहरूले गर्ने गरेको देखिन्छ । जस्तै, सार्क राष्ट्रको छिमेकी देश भुटान, नेपालको उत्तरी छिमेकी देश चीन, फ्रान्स, जर्मनी, इटली, माल्दिभ्स, नर्वे, अस्ट्रिया, नेदरल्यान्ड, सिंगापुर, मकाउ, हङकङ, भियतनाम, युगान्डा, कम्बोडिया, इन्डोनेसिया, फिलिपिन्स, टर्की आदिलाई उदाहरणका रूपमा लिन सकिन्छ ।
छिमेकी देश चीन र भुटानले त आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि ‘तिमीहरूले हाम्रो देशमा भ्रमण गर्ने क्रममा दैनिक यति अमेरिकी डलर खर्च गर्नैपर्छ’ भनी सीमा तोकिदिएको छ भने बाँकी देशहरूले आ–आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि दैनिक रूपमा प्रतिदिन यति अमेरिकी डलर खर्च गर्नैपर्छ भनी सीमा नै नतोकेको भए तापनि सकेसम्म धेरैभन्दा धेरै खर्च गर्न सक्ने पर्यटकलाई मात्रै भित्र्याउनेतर्फ ध्यान दिएका छन् ।
हालसम्म हाम्रो देश नेपालचाहिँ पर्यटन क्षेत्रको भाषामा ‘ब्याक–प्याकर’ अथवा ‘वेस्ट टुरिस्ट’ (वातावरण, स्थानीय संस्कार, संस्कृति, रहनसहन आदि नष्ट गर्ने) पनि भनिने कम खर्च गर्ने, हल्लाखल्ला धेरै गर्ने ‘लो क्वालिटी’का विदेशी पर्यटकको ‘हब’ नै भएको देखिन्छ । त्यस्ता विदेशी पर्यटकहरू आपूmले खाएको र बसेको ‘रेस्टुराँ, होटल, लज, होमस्टे, गेस्ट हाउस’ आदिमा खाएको, बसेको खर्चमा छुट माग्नेसम्म गरेको देखिन्छ ।
अब त्यस्ता विदेशी पर्यटकको संख्या वार्षिक रूपमा २५ लाख, ३० लाख, ३५ लाख मात्र होइन, ४५ लाख, ५० लाख, ५५ लाख, ६० लाख नै नेपाल भ्रमण गर्न आए तापनि नेपाली पर्यटन क्षेत्रले आर्थिक रूपमा अपेक्षित फाइदा लिन सक्दैन भन्ने पक्का छ । त्यसमाथि नेपालमा हवाई उडान गर्ने प्रायः सबै हवाई सेवा कम्पनी विदेशी एयरलाइन्सहरू नै रहेका छन् । भएका केही नेपाली एयरलाइन्स पनि, जस्तो कि नेपाल वायुसेवा निगम, हिमालय एयर, बुद्ध एयर, सिम्रिक एयरलाइन्स, यति एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत अन्य एयरलाइन्सहरूले पनि भारत, हङकङ, कतार, चीन, साउदी अरब, मलेसिया आदि देशका सीमित सहरमा मात्रै उडान गरिरहेका छन् ।
त्यस कारणले गर्दा हालसम्म नेपाल आउने जति पनि विदेशी पर्यटक छन्, उनीहरूमध्ये धेरैजसोले अधिकांश विदेशी कम्पनीका एयरलाइन्समै यात्रा गर्ने गरेका छन् । जसको सीधा असर, उनीहरूले यात्रा गर्ने क्रममा तिरेको टिकटको पैसा पनि विदेशमै गइरहेको छ । यसरी हेर्दा जति विदेशी पर्यटक नेपाल भ्रमण गर्न आइरहेका छन्, उनीहरूले टिकटबापत तिर्ने गरेको रकम पनि विदेशी एयरलाइन्सहरूलाई नै कमाउन नदिनका लागि स्वदेशी एयरलाइन्सहरूलाई विभिन्न देशमा उडान गर्न दिन नेपाल सरकारले ती देशका सरकार प्रमुखहरूसँग पहल गर्नुपर्ने देखिन्छ ।
त्यसैले हामीले अब नेपाली एयरलाइन्सहरूलाई जतिसक्दो धेरै देशमा हवाई उडान गर्न प्रोत्साहित गर्नुपर्छ । अर्को भनेको हामीले थाहा पाएकै कुरो हो कि, सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सरह वुहानबाट फैलन सुरु भएको ‘नोभेल कोरोना भाइरस’को महामारी हाल लगभग मत्थर भएको छ । नयाँ भेरियन्टका रूपमा कोरोना फैलिरहेको छ/छैन भन्ने सम्बन्धमा पनि हिजोआज खासै समाचारहरू आएको छैन ।