Trending
नेपालमा पर्यटन बिश्वबिद्यालय खुल्ने भएको छ । पर्यटन विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
नेपालमा पर्यटन बिश्व बिद्यालयको आवश्यकताबारे लामो समयदेखि पर्यटनबिद् तथा हिमाल अरोहि टाँसी लाक्पा शेर्पाले बहस र छलफल गर्दे आउनुभएको थियो । उहाँले लामो समयदेखि उठाएको कुरा पर्यटन मन्त्री सुदन कीरातीले कार्यान्वयनमा ल्याउनु हुने भएको छ ।
शेर्पाले पर्यटन बिश्व बिद्यालयसंगै पर्यटन शहरको परिकल्पना गर्नु भएको थियो । त्यसै गरी यस बिषयलाई पर्यटनबिद् तथा नेपाल माउण्टेन एकेडेमीकी पूर्व अध्यक्ष लाक्पाफुटी शेर्पाले समेत उठाउदै आउनुभएको थियो । पर्यटन बिश्व बिद्यालय बन्ने भएपछि पर्यटन व्यवसायी हिमाल अरोहि र पर्यटन संग सम्बन्धित संघसंस्थाका प्रतिनिधिले खुशी व्यक्त गरेकाछन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेको हो । पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालय स्थापनाका लागि विधेयक तर्जुमा समिति समेत गठन गरिएको छ ।
मन्त्रालयको सचिव सुरेश अधिकारीको संयोजकत्वमा ७ सदस्य पर्यटन विश्वविद्यालय विधेयक निर्माण समिति बनेको छ । समितिको सदस्यमा राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, पर्यटन महाशाखा, कानुन शाखाका सहसचिव र पूर्व सचिव राजीव गौत्तम रहेका छन् । सदस्य सचिव नाथमका कार्यकारी निर्देशक रहने गरी समिति बनाइएको हो ।
यस्तै डा. मानबहादुर विश्वकर्माको संयोजकत्वमा ५ सदस्य रैथाने विश्वविद्यालय विधेयक तर्जुमा समिति बनेको छ । सदस्यहरूमा भोगीराज चाम्लिङ, गीता चौधरी र प्राज्ञ प्रतिष्ठानका १ जना परिषद् सदस्य रहने निर्णय गरिएको छ । सदस्य सचिव संस्कृतिक महाशाखाका प्रमुख रहने बैठकले निर्णय गरेको छ ।
समितिलाई विधेयक मस्यौदा निर्माणका लागि ४५ दिनको समय दिइएको छ । यसअघि पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरी प्रकृया अगाडि बढाइएको छ ।
पर्यटन प्रर्वदन गरेर मात्र देशलाई आर्थिक विकास गर्न सकिने भएकाले पर्यटन विश्वविद्यालय आवश्यक रहेको मन्त्री किरातीले बताउनुभयो ।