नयाँ वर्षको अवसरमा काठमाडौंको बसन्तपुरमा नेपाल टूरिजम फेस्टिभल हुने भएको छ । नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको सहयोगमा फेस्टिभल हुन लागेको हो । नेपालमा पर्यटनको नीतिगत छलफल र बहस गर्ने उद्धेश्यले खुल्ला रुपमा नेपाल टूरिजम फेस्टिभल हुन लागेको हो ।
आज पत्रकार सम्मेलन गरी नेपाल टूरिजम फेस्टिभलको घोषणा गरिएको हो । यस वर्षदेखि सुरु हुने फेस्टिभल हरेक वर्ष हुनेछ । नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटनको नीतिगत कुरालाई केलाउन फेस्टिभलको आयोजना गरिएको आयोजक एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिनुभयो ।
दुई दिने फेस्टिभलमा न्युनतम १० देखि अधिकतम १५ वटा सेसनहरु सञ्चालन हुनेछन् । फेस्टिभलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गर्ने बताईएको छ । फेस्टिभलमा विभिन्न विधामा पर्यटन केन्द्रित गरेर सेसन सञ्चालन हुनेछन् ।
यस्तै अन्य सेसनमा पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास, स्वास्थ्य पर्यटन, स्वास्थ्य सदृश्य र संसार, चलचित्र पर्यटन, सिन, सिनेमा र सेलिबे्रटी हुनेछन् । यस्तै व्यावसायिक पर्यटन, रहर, सहर र पर्यटन बजार, पर्यटनमा जलवायू परिवर्तनको असर, हिउँ हिमाल र हिमालय सेसन पनि सञ्चालन हुनेछ ।
युवा पर्यटन अभियन्ता ट्राभलर एण्ड एक्सप्लोरर, सात प्रदेशको पर्यटन, सम्भावना र चुनौति, हेरिटूज टुरिजम, काठमाडौं उपत्यका र विश्वसम्पदा, एयरलाइन्स टूरिजम, उडान, उड्डयन र नेपाली आकाश सेसन पनि सञ्चालन हुनेछन् । यस्तै नेपालमा रहेका विभिन्न विदेशी राजदूतको नेपाल अनुभव सेसन पनि सञ्चालन हुने फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिनुभयो ।
यस्तै खेल पर्यटन, खेल, खेलाडी र गोर्खाली तथा कला पर्यटन, संगीत, सौन्दर्य र सुनौलो नेपाल, कृषि पर्यटन, माटो, बाटो र दोबाटो सेसन पनि सञ्चालन गर्ने तयारी छ । यसबाहेक शिक्षा पर्यटन, युद्ध पर्यटन, साहित्य पर्यटन लगायतका विषयले पनि प्राथमिकता पाउने आयोजकको भनाई छ ।
नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन केन्द्रित नीतिगत बहस गर्ने उद्धेश्यले नेपालमा पहिलोपटक नेपाल टूरिजम फेस्टिभल आयोजना गर्न लागेका हो ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपाल टूरिजम फेस्टिभलले पर्यटन क्षेत्रका विविध विधालाई जोड्ने र पर्यटनका नीतिगत सवाललाई उजागर गर्ने बताउनुभयो । पर्यटनसँग कृषि, शिक्षा, स्वास्थ्य लगायत विषय जोडिएपनि यसबारे निरन्तर बहस तथा छलफल आवश्यक रहेकोमा जोड दिइएको थियो ।
फेस्टिभलका प्रमुख सल्लाहकार तथा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले नेपालमा वर्षेनी गर्ने उद्धेश्यले सुरु हुन लागेको नेपाल टूरिजम फेस्टिभलले नेपालको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पार्ने बताउनुभयो ।