Trending
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोपारा लेक पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको छ । कुनै समय यो ठाउँमा भैँसीका गोठ थिए । समुदायको अगुवाइमा उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गरेसँगै अहिलो पर्यटन व्यवस्थापनको नमुना बनेको छ ।
समुन्द्री सतहदेखि तीन हजार छ सय मिटरको उचाइमा अवस्थित खोपारालाई केन्द्र बनाएर अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन गरीएको छ । सडक विस्तारसँगै पर्यटकको बसाइँ र यात्रा अवधि लम्ब्याउने उद्देश्यले यस क्षेत्रलाई वैकल्पिक पर्यटन गन्तव्य बनाइएको खोपारा सामुदायिक लजका कर्मचारी आदेश तिलिजाले बताउनुभयो ।
खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकयापभित्र पर्छ । घोडेपानी, शिख, पाउद्धार र नारच्याङबाट खोपारा जोड्ने पदमार्ग बनाएर सामुदायिक लज सञ्चालन गरेपछि पर्यटक बढ्न थालेका हुन् । यो सिजनका लागि पर्यटक आउन थालेका छन् । वैशाख सम्मका लागि होटल बुकिङ भएको छ । यहाँका ६० जना क्षमताको सामुदायिक लज पाहुनाले भरिन थालेका छन् ।
सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलब जुटाउन यहाँ सामुदायिक लज सुरु गरिएको थियो । पछिल्लो समय पर्यटन सहकारी संस्थामार्फत सञ्चालन गरिँदै आएको छ । खोपाराको विकासमा अगुवाइ गरिरहेका राजु पुनले पूर्वाधार नहुँदा र पर्यटक नआउँदा यस क्षेत्र भैँसी गोठमा सीमित भएको बताउनुभयो ।
गुराँस र जङ्गलको बीचमा पहाडको टाँकुरा र भिरालो भुगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो । अन्नपूर्ण, धौलागिरि, नीलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजङ्ल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृष्य अवलोकन गर्न सकिन्छ ।
पाउद्धारवासीले खोपारा र खयरभारानी थान जोड्ने पदमार्गमा एक करोड ६० लाखभन्दा बढी चन्दा जुटाएर पूर्वाधार निर्माण गरेका छन् ।
झण्डै २० वर्षअघि सुरु भएको खोपारालाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा पछिल्लो एक दशकयता खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषले पनि साथ दिएको छ । अन्नपूर्ण गाउँपालिकाले पदमार्ग र प्रदेश सरकारले सामुदायिक लजको क्षमता विकासमा सघाएका छन् ।