Trending
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) र सोलुखुम्बुस्थित माप्यदूधकोशी गाउँपालिकाबिच साझेदारी भएको छ । काठमाडौंमा एक कार्यक्रमबिच गाउँपालिकामा पर्यटन विकासका लागि माप्यदूधकोशी गाउँपालिकाले टानसँग साझेदारी गरेको हो । गाउँपालिकाका तर्फबाट अध्यक्ष बुद्धिकिरण राई र टानका अध्यक्ष निलहरी बास्तोलाले हस्ताक्षर गरेका हुन् ।
टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहालका अनुसार गाउँपालिकाले टानसंँगको साझेदारीमा पालिकाभित्र पर्यटन विकासका कामहरूलाई अघि बढाउने भएको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा र मेरापिकको प्रवेशद्वार भएर पनि पर्यटनका हिसाबले ओझेलमा परेको गाउँपालिकाको पर्यटन विकासमा साझेदारी गर्ने सम्बन्धी विषयमा सम्झौता भएको छ ।
ट्रेकिङ ट्रेलको खोज, अन्वेषण, विकास र बिस्तारका लागि दुवै पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने साझेदारी पत्रमा उल्लेख गरिएको छ ।गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, वडा सदस्य दुर्गा राई, टानका पूर्व प्रथम उपाध्यक्षसमेत रहेका चोलेन्द्र कार्की तथा टानका तर्फबाट वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल नेतृत्वको टोलीले स्थानीय स्तरमा पर्यटन विकासको सम्भावनाबारे यसअघि अध्ययन गरेका थियो ।