Trending
सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवागमन झण्डै ७५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तथ्यांकलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्या ७५ दशमलव १७ प्रतिशतले वृद्धि भएको बताईएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्यांकअनुसार गत आवको पहिलो पाँच महिनामा ७ हजार चार सय ६५ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए भने चालु आवको सोही अवधिमा २५ हजार ३० जनाले भ्रमण गरेका छन् ।
चालु आवको साउनमा तीन सय ५, भदौमा छ सय ९०, असोजमा छ हजार सात सय ३१, कात्तिकमा १३ हजार एक सय ५ र मङ्सिरमा चार हजार ६५ पर्यटक खुम्बु पुगेका थिए ।
पाँच महिनामा २१ हजार आठ सय ५३ विदेशी र तीन हजार एक सय ७६ जना नेपाली पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । भ्रमण गर्ने विदेशी पर्यटकमध्ये एक हजार नौ सय ९० सार्क मुलुकका र १० हजार आठ सय ६३ रहेका छन् ।
निकुञ्जले पर्यटक प्रवेश शुल्कबाट पाँच महिनामा तीन करोड ५५ लाख ७७ हजार एक सय रुपैया राजस्व संकलन गरेको छ । विदेशी पर्यटकबाट प्रतिपर्यटक तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट एक हजार पाँच सय र नेपालीबाट एक सय रुपैया प्रवेश शुल्क लिने गरेको छ ।