Trending
अरुण उपत्यका विश्वकै सबैभन्दा गहिरो उपत्यका हो । यो उपत्यका समुन्द्री सतहभन्दा तीन हजार ६ सय मिटर गहिरो रहेको छ । प्रदेश नम्बर १ को सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारीबाट १३ किलोमिटरको दुरीमा अवस्थित अरुण उपत्यका विश्वकै सबैभन्दा धेरै प्रजातिको चरा पाइने उपत्यका पनि हो । यस उपत्यकामा ६ सय ५० भन्दा बढी प्रजातिको चरा पाइन्छ । त्यसैगरी आठ सय भन्दा बढी प्रजातिका पुतली पनि यस उपत्यकामा पाइन्छ । अरुण उपत्यका जैविक विविधता, मनमोहक प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले पनि भरिपूर्ण रहेको छ । भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको यो उपत्यकालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण स्थानको रूपमा लिने गरिन्छ ।
उपत्यकाको बीचबाट नागबेलीझैँ निरन्तर बगिरहने अरुण नदी उपत्यकाको अर्को सुन्दरता हो । चीनको तिब्बतबाट बग्दै आउने अरुण नदीको निलो कञ्चन पानीले उपत्यकाको सुन्दरतामा नयाँ रङ्ग थपिदिएको छ । मकालु हिमालबाट उत्पत्ति भएर आएको वरुण नदी अरुणको ठुलो सहायक नदी हो भने अरुण नदी सप्तकोसी नदीको प्रमुख सहायक नदी हो । अरुण नदीमा ८३ भन्दा बढी प्रजातिको माछा पाइन्छ ।
अरुण उपत्यका पदयात्राको लागि पनि उत्कृष्ट गन्तव्य हो । यो उपत्यका सगरमाथा र मकालु पदमार्गको बीचमा पर्ने भएकाले पदयात्राको लागि पनि उत्तम मानिन्छ । यस उपत्यकाबाट सुन्दर हिमालयको दृष्यवालोकन गर्न सकिन्छ । जहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, वरुण, ल्होत्से, नुप्से, आमादव्लम, थामसेर्कु लगायत हिमाललाई नजिकैबाट देख्न पाइन्छ । रमाइलो कुरा के छ भने विश्वकै गहिरो उपत्यकाबाट विश्वकै अग्लो शिखर सगरमाथा देख्न पाइन्छ । यस हिसाबले पनि अरुण उपत्यका एक पटक घुम्नैपर्ने गन्तव्य हो ।