Trending
बंगलादेशको बोगुरामा आयोजित ‘तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ मा पुरु लम्सालको ‘गोरु पर्व’ले उत्कृष्ट वृत्तचित्र अवार्ड प्राप्त गरेको छ ।
नेपालको मौलिक संस्कृतिलाई समेटिएको वृत्तचित्र ‘गोरु पर्व’ले उक्त अवार्ड पाउन सफल भएको हो । निर्देशक लम्सालका अनुसार जनवरी २६ देखि २८ सम्म आयोजना भएको महोत्सवमा भारत, बंगलादेश, नेपाल, फ्रान्स, इजिप्ट, ट्युनिसिया लगायतका विभिन्न देशका ४७ चलचित्र प्रदर्शन गरिएको थियो ।
हरेक वर्ष माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारुकामा आयोजना हुने गोरु जुधाउने परम्परामाथि निर्मित वृत्तचित्रले नेपालको मौलिक संस्कृतिमा आधारित ‘गोरु पर्व’ बारे अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसारसमेत गरेको निर्देशक लम्सालको भनाइ छ । उहाँले भन्नुभयो, ‘यसलाई अन्तर्राष्ट्रियकरण गर्ने एउटा प्रयास मात्रै हामीले गरेका हौँ । हाम्रा हरेक पर्व र संस्कृतिहरूको अन्तर्राष्ट्रिय प्रचार गर्न सके यसबाट पनि हामीले देशलाई चिनाउन सकिन्छ भन्ने देखिएको छ ।’
सिने मेकर्स नेपालको प्रस्तुतिमा वृत्तचित्रलाई केपी पाठक र नीराजन सिग्देलले संयुक्त रूपमा निर्माण गरेका हुन् । छायाँकनमा रमेशकुमार धमला र ज्योति सिंहको योगदान रहेको छ भने वृत्तचित्रको सम्पादन लव प्याकुरेलले गरेका हुन् ।
साथै, सुशीलसिंह ठकुरीले पार्श्वगायन र राजेन्द्र बजगाईंले पार्श्वसंगीतमा योगदान गरेका छन् ।