Trending
नेपाली कांग्रेस वातावरण तथा जलबायु परिवर्तन सरोकार बिभागका सभापति कल्याण गुरुङले वातावरण र जलवायुको क्षेत्रमा प्रभावकारी काम गर्न छुट्टै नीति,नियम र कानुन आवश्यक रहेकोमा जोड दिनुभएको छ । बिभागले वातावरण तथा जलवायु परिवर्तन सरोकार बिषयक आज काठमाडौमा गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गुरुङले वातावरण र जलवायु परिवर्तनको असर अहिले नेपाल जस्तो बिकासोन्मुख मुलुकमा देखिन थालेको भन्दै यसको नीति नियम र कानुन बनाएर प्रभावकारी रुपमा काम गर्नु पर्ने खाँचो औल्याउनुभयो । जलवायु परिवर्तनको असरकै कारण अहिले नेपाल मात्र नभई बिश्वजगत भयभित भएको भन्दै सबैको साँझा प्रयासबाट यसको न्यूनिकरण गर्न सकीने पनि बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असर, यसले पार्ने प्रभाव र न्युनिकरण गर्दे जाने उपायको बारेमा तल्लो तहदेखि नेपाली कांग्रेसको नेतृत्व तहसम्म पुर्याउने पनि बताउनुभयो ।
नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष तथा जलवायु अभियान्ता आङछिरिङ शेर्पाले जलवायु परिवर्तनबाट पर्वतीय क्षेत्र र पर्यटन व्यवसायमा जोखिममा पर्दे गएको बताउनुभयो । हिमताल विष्फोट र हिमपहिरोका घटनाहरु बढ्दै गएको भन्दै उहाँले जलवायु अनुकुलन र प्रभाव न्यूनीकरणमा संसारकै ध्यानाकृष्ट गर्नुपर्ने अवश्यकता रहेको औल्याउनुभयो ।

कार्यक्रममा जलवायु परिवर्तन र थामे घटनाका बिषयमा भिडियो र फोटो सहितको व्याख्या पत्रकार चक्र कार्कीले प्रस्तुत गर्नुभएको थियो भने वातावरणीय सुशासन मा पार्टी विभागको भूमिकाको बिषयमा वातावरणविद निरञ्जन श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी प्लाष्टिक प्रदूषण र पानी व्यवस्थापनमा वातावरणविद डा. विजय थापाले प्रस्ुतीकरण गर्नुभएको थियो । पर्यटन व्यवसायी संगम शेर्पाले दिगो सहस्राब्दी लक्ष्य र दिगो पर्यटन व्यवसायको बारेमा प्रभावकारी रुपमा प्रस्तुती दिनुभएको थियो । वातावरणविद डा. जयराम कार्कीले प्रदूषणरहित इको मास्क र जलवायु परिवर्तनविज्ञ युगान मानन्धरले पेरिस सम्झौताको बारेमा जानकारी गराउनुभएको थियो ।
पर्यटन व्यवसायी संगम शेर्पाले दिगो सहस्राब्दी लक्ष्य र दिगो पर्यटन व्यवसायबारे बोल्दै गरिबी, वातावरणीय क्षति, र आधारभूत संरचनाको कमीको समस्या बढ्दै गएको र यस्ता लक्ष्यहरूलाई देशका प्रत्येक नागरिकसम्म पु¥याउनु पर्नेमा जोड दिनुभयो । विशेष गरी वातावरणीय संरक्षण र जलवायु परिवर्तन सम्बन्धी लक्ष्यहरूमा केन्द्रित हुँदै नवीकरणीय ऊर्जा, दिगो कृषि, र संरक्षण प्रयासहरूलाई समर्थन गर्दै, नेपालको वातावरणीय सन्तुलनलाई कायम राख्न नीति समर्थन गर्ने काममा लागिपर्न पनि उहाँले सुझाव दिनुभएको थियो । युवा शक्तिशाली परिवर्तनकर्ता भएको र दिगो विकासका लक्ष्यहरूलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्नु अत्यावश्यक छ भन्दै यसले युवाहरूलाई भविष्यका नेताहरूको रूपमा तयार पार्न मद्दत गर्ने उहाँको भनाई थियो । तर, नेपालजस्तो मुलुकमा जनचेतना फैलाउनु ठूलो चुनौतीको रुपमा रहेको भन्दै सरकार, नागरिक समाज, निजी क्षेत्र, र व्यक्तिगत स्तरमा सामूहिक प्रयासहरू मार्फत अगाडि बढ्नु पर्ने पनि बताउनुभयो । कार्यक्रममा बिभिन्न क्षेत्रका बिज्ञ, बन बिज्ञ,वातावरणविदलगायतले आ–आफनो धारण राखेका थिए ।