चालु आर्थिक वर्ष २०८२÷८३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरूबाट रु एक करोड १५ लाख आम्दानी गरेको छ। अन्नपूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ्ग–तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शुल्क सङ्कलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ।

पुनहिल, पाउद्वार र रातोपानीको आय ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए। उनका अनुसार भुरुङ्ग–तातोपानी कुण्डमा प्रवेश शुल्क सङ्कलन र चमेनागृह सञ्चालन गर्न रु ५० लाख एक हजारमा ठेक्का कबोलेको होटल हटस्पिरिङ इनसँग दसैँलगत्तै सम्झौताको तयारी भएको छ।

अन्नपूर्ण–६ स्थित पुनहिलमा प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि रु ५० लाख, पाउद्वार तातोपानी कुण्डको रु २५ लाख र रातातोपानीको रु तीन लाख न्यूनतम शूल्क कायम गरेर ठेक्का आह्वान भएको थियो।

सबै पर्यटकीयस्थलको ठेक्कामा न्यूनतमभन्दा थोरै मात्र बढी कबोलेका व्यवसायीले अग्रिम रुपमा राजस्व जम्मा गरेर कानुनअनुसार १० प्रतिशत छुट पाएका छन्। रु ५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी, रु १५/१५ हजार आय ठेक्काको रकम कायम भएको नारच्याङ र महभिर झरनामा चमेनागृह सञ्चालन गर्न कसैको पनि प्रस्ताव नपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताए।

गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिक रूपमा व्यवसाय करबापत हरेकलाई रु ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेबापत रु ३६ हजार बहालबटौली कर लिने गरेको छ। गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोला लगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसपबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ।

गत आर्थिक वर्षमा रु एक करोड ७२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले पर्यटन क्षेत्रबाट मात्रै रु एक करोड २७ लाख आम्दानी गरेको थियो। चालु आर्थिक वर्षमा रु दुई करोड १२ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णमा पर्यटकीयस्थलको योगदान प्रमुख छ।

पुनहिल र भुरुङ्ग–तातोपानीमा नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशीलाई रु १५० प्रवेश शुल्क कायम भएको छ। घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभीर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरू रहेको यस गाउँपालिका–४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल रहेको छ। पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्द्धन गर्दै स्थानीयको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको उनले बताए।

मङ्लबार, १४ अशोज, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !