Trending
काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अहिले बिहान ८ः३० बजेबाट लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
प्रशासनद्वारा जारी आदेशमा काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती पुलसम्मको सम्पूर्ण क्षेत्रमा आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने उल्लेख छ ।
अत्यावश्यक सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारीसाधनको आवागमनमा भने सुरक्षाकर्मीले सहजीकरण गर्ने कर्फ्यु आदेशमा उल्लेख छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अहिले बिहान साढे ८ बजेबाट अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
जेनजीको प्रदर्शन तनावपूर्ण बनेपछि प्रशासनले सोमबार दिउँसैबाट कर्फ्यु आदेश जारी गरेको थियो । मंगलबार पनि जेनजी पुस्ताले प्रदर्शनको तयारी गरेपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।