Trending
गुगल म्याप्सले नेपालमा ‘स्ट्रिट भ्यू’ सुरु गरिएको घोषणा गरेको छ।
शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ, २०२५’ को अवसर पारेर सुरु गरिएको गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ चित्रमार्फत नेपालको अद्भुत भू-दृश्य र समृद्ध संस्कृति भर्चुअल रूपमा अवलोकन गर्न सकिने छ।
‘स्ट्रिट भ्यू’ चित्रमार्फत काठमाडौंका जीवन्त सडक गल्लीहरूमा टहलिन, शान्त र सुन्दर तराई क्षेत्रको अन्वेषण गर्न तथा हिउँले ढाकिएका हिमालहरूको मनोरम भव्य दृश्य देखाउने घुमाउरा सडकमा फोन वा कम्प्युटरबाट भर्चुअल यात्रा गर्न सकिने बताइएको छ।
यसले अनुभूतिको संसारमा प्रवेश गराएर नेपालको समृद्ध वास्तुकलाको इतिहास, प्राचीन मन्दिर र दरबार तथा चहलपहलयुक्त बजार र जीवन्त परम्परालाई नजिकबाट हेर्ने अवसर दिनेछ।
यस सुरुवातले विश्वलाई नेपाल अनुभव गर्ने नयाँ र रोमाञ्चक माध्यम उपलब्ध गराएको छ, जसले नेपालको समृद्ध सांस्कृतिक सम्पदा र पर्यटन सम्भावना दुवैलाई प्रवर्द्धन गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ।
नेपालका नवीनतम दृश्यहरू फोन वा कम्प्युटरमा गुगल म्याप्स खोली ३६० डिग्री भ्यू वा पहेँलो स्ट्रिट भ्यू पेगम्यानमा क्लिक गरी हेर्न सकिने छ।