Trending
तुलसीपुर उपमहानगरपालिका- ३ भट्टेका किसानले केही समयसम्म परम्परागत खेती मकै, तोरी गहुँ लगायत गर्ने गरेका थिए। केही वर्षअघिदेखि २५ र ३० घरधुरीले व्यावसायिक रूपमा तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आइरहेका छन्। परम्परागत खेती भन्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएपछि गाउँमा सबै तरकारी खेतीतर्फ आकर्षित भएको हुन्।
स्थानीय भीम बहादुर वलीले विगत ४ वर्षदेखि व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन्। अहिले ७ वटा टनेलमा टमाटर खेती गरेको भन्दै उनले एउटा टनेलबाट सबै खर्च कटाएर ५० हजार जति आम्दानी हुने बताए। उनले भने,‘ तोरी, मकैको खती गर्दा १०/१२ हजार पनि आम्दानी हुँदैन्थ्यो। तरकारी खेतीबाट राम्रै आम्दानी हुने गरेको छ।’
अहिले टमाटर खेती गरेको भन्दै टमाटर पछि बोडी, सिमी लगायतको तरकारी खेती गर्ने गरेको उनले बताए। उनले आफूहरूले उत्पादन गरेको तरकारी बजार मूल्य भनेजस्तो नपाउने गरेको गुनासो गरे। तरकारी बिक्रीको लागि समस्या नभएको भन्दै उनले मूल्य नपाउने गरेको बताए। अर्का स्थानीय मस्तबहादुर चन्द पनि करिब १४ वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसे।
गाउँमा व्यवसायिक रुपमा तरकारी खेती गरेको देखेपछि घर आएर विगत ३ वर्षदेखि तरकारी खेती गर्दै आएका छन्। पसिना बगाएपछि विदेशको जस्तै कमाइ हुने भन्दै अहिले १५ वटा टनेलमा टमाटर खेती गदै आएको उनको भनाइ छ। गत वर्ष ५/७ लाखको आम्दानी भएको भन्दै उनले यस पटक टमाटर राम्रो नहुँदा अलि कम आम्दानी हुने समेत बताए। यस पटक टमाटरमा कीरा लगाएर टमाटर कम उत्पादन भएको र जैविक औषधि प्रयोग गर्दा कीरा नियन्त्रणमा नआएको समेत बताए।
उनका अनुसार उत्पादन भएको तरकारीहरू आफूहरूले तुलसीपुर बजारमा बिक्रीको लागि लैजाने गरिन्छ। उनले यसरी गाउँ मै तरकारी खेती गर्दा राम्रो आम्दानी भएको भन्दै विदेशको जस्तै पसिना बगाए नेपालमा पनि गर्न सकिने समेत बताए। आफूलाई कृषि ज्ञान केन्द्रबाट टनेल सहयोग भएको पनि बताए। यस्तै उनले आफूहरू जस्ता किसानहरूले उत्पादन गरेको तरकारीहरूको बजार व्यवस्थापन राम्रो र मूल्य पनि उत्तिकै पाउने व्यवस्था भएमा अझ थप हौसला बढ्ने बताए ।
उनले भने,‘ हामीले अहिले अर्गानिक तरिकाले नै तरकारी खेती गरेका छौँ। तर, हाम्रो तरकारीको मूल्य उस्तै रहेको छ। यहाँबाट तुलसीपुर बजार बिक्री गर्न लैजान समेत सडक राम्रो छैन्। जसका कारण पनि निकै समस्या हुने गरेको छ।’ यहाँका किसानहरूलाई कृषि ज्ञान केन्द्र दाङले विभिन्न सहयोग गर्दै आइरहेको छ। किसानहरूले उत्पादन गरेको तरकारी तुलसीपुर बजार ल्याएर बेच्ने गरेका छन्। स्थानीय टिका विकले पनि विगत ४ वर्षदेखि तरकारी खेती गर्दै आएको बताइन्। अहिले ४२ ओटा टनेलमा तरकारी खेती गदै आइरहेको बताइन्।
तरकारी खेतीबाट राम्रै आम्दानी हुने गरेको भन्दै बेच्नको लागि कुनै समस्या नभए पनि मूल्यमा समस्या हुने गरेको बताइन्। पहिला तोरी, मकै खेती गर्ने जग्गामा अहिले तरकारी खेती गरिरहेको भन्दै आम्दानीको हिसाबले यो नै राम्रो रहेको उनको भनाइ छ। उनले भनिन्,‘ तोरी, मकैबाट भनेको जस्तो आम्दानी हुँदैन्थ्यो। अहिले तरकारी खेतीबाट राम्रै आम्दानी भएको छ। हाम्रो जग्गाले मात्र नपुगेर भाडाको जग्गा समेत लिएर गदै आएका छौँ।’
गाउँमा ३०० वटा टनेलमा तरकारी खेती भइरहेको भट्टे कृषि सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर वलीले बताए। विगत ४ वर्षदेखि आफूहरूले अर्गानिक तरकारी खेती गर्दै आइरहेको भन्दै उनले राम्रो सडक नहुँदा तरकारी ढुवानीमा समस्या हुने गरेको बताए। गाउँबाट वार्षिक २ करोड बराबरको तरकारी निर्यात हुने उनको भनाइ छ।
उनले गत वर्ष आफूले करिब ५० लाख बराबरको कारोबार गरेको भन्दै २०७७ सालदेखि गाउँमा कृषि सहकारी संस्थाले परम्परागत कृषि भन्दा आधुनिक खेती गर्न लागेको र राम्रो भएको बताए। अहिले आफूहरूले थोपा र सतह सिँचाइको व्यवस्था रहेको समेत बताए।
यस्तै आफूहरूलाई कृषि ज्ञान केन्द्र दाङबाट प्रधानमन्त्री कृषि आधुनिकमा परियोजना अन्तर्गत तरकारी खेती ब्लक कार्यक्रम परेपछि किसानहरू थप उत्साहित भएर खेती गर्न थालेको समेत बताए। अहिले गाउँमा सबैले अर्गानिक खेती गरिरहेको भन्दै उनले गाउँमा सबै गड्यौला मल उत्पादन गर्नको लागि पनि गड्यौला पाल्न थालेको समेत बताए। संस्थामा आबद्ध १११ शेयर सदस्य छन्।