हिउँ कसैका लागि रहर छ भने कसैका लागि कहर बनिदिन्छ । हिउँ हेर्न र खेल्न जानेहरूका लागि रहरको विषय हो, तर हिउँसँगै गुजारा गर्नेहरूको पीडा छुट्टै हुन्छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा वर्षमा एक/दुई पटक अनिवार्य हिउँ परेकै हुन्छ ।

यस वर्ष पनि गत साता शुक्रबार र शनिबार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भयो भने तल्लो क्षेत्रमा वर्षा भयो । जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रहरू हिमपात भएपछि सेतै भए । कालो पत्थरमा परिणत भइसकेको सिस्ने हिमाल सेताम्य भएको छभने पुथा हिमाललगायत धौलागिरि रेञ्ज पूरै सेताम्य छ ।

मध्यपहाडी लोकमार्गको लुकुम पातिहाल्ना खण्डको पाँच/सात किलोमिटर दूरीको मोटर यात्रामा हिउँसँग साक्षात्कार हुँदै गर्न सकिन्छ । रूकुम पूर्व–बागलुङ सिमाना पातिहाल्नाबाट उकालो चढेर चौँरी लेक र किलाचन लेकमा पुग्दा त्यहाँबाट देखिने सिस्ने हिमाल, पुथा हिमालको दृश्यसँगै सुन्दर ढोरपाटनको फाटले मानिसहरूलाई मन्त्रमुग्ध बनाउने गर्दछ ।

हिउँ परेसँगै आन्तरिक पर्यटकहरू लोभिने गर्दछन् । पातिहाल्नामा अहिले दैनिक हिउँ खेल्नेहरूको भिड लाग्ने गर्छ । यस क्षेत्रमा रूकुम पूर्वको विभिन्न ठाउँसहित रोल्पा, रूकुम पश्चिम, बागलुङ, दाङ, सल्यानबाट हिउँ खेल्न आउने गरेका छन् । कतिपय मानिसहरू पोखरा र बुटवलबाट समेत हिउँ खेल्न पातिहाल्नामा पुगेको होटेल व्यावसायी किस्मत घर्तीले बताउनुभयो ।

हिउँ परेको समयमा हिउँ खेल्न आउने मानिसहरूको जमघटले होटलमा भ्याइनभ्याइ हुने गरेको उहाँले सुनाउनुभयो । “टाढाबाट आएका मानिसहरू बास बस्न खोज्छन्, होटेल व्यावसायी घर्तीले भन्नुभयो, “यो पातिहाल्नामा दुई वटा कटेज मात्र छन्, पाहुनाहरूलाई बास बसाल्न सकिने अवस्था छैन् ।” तर हिउँ परेको समयमा आन्तरिक पर्यटकहरूको जमघटले यो क्षेत्रमा रौनकता थप्ने गरेको उहाँको भनाइ छ ।

मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने सबै यात्रुहरूले पातिहाल्नामा एकछिन गाडी रोकेर वरपरको दृश्यलाई नियाल्ने र फोटो ‘क्लिक’ गरेर मात्र आफ्नो यात्रालाई अगाडि बढाउने गरेका छन् । पातिहाल्नामा हिउँ परेपछि बर्सेनी आफूहरू समूह बनाएर हिउँ खेल्न आउने गरेको रूकुम पश्चिमबाट आउनुभएका चन्द्रबहादुर कुँवरले बताउनुभयो । यसै पनि यो क्षेत्र रमणीय भएको र यहाँबाट अन्य विभिन्न गन्तव्यहरूमा जान सकिने भएको कारण अन्य समयमा पनि आउने गरेको बताउँदै उहाँले हिउँ परेको समयमा जसरी नि यहाँ पुग्ने गरेको सुनाउनुभयो ।

प्रायः मानिसहरू हिउँ खेलेर पातिहाल्नाबाट फर्कने गरेका छन् । केही मानिसहरू थप सुन्दर दृश्यलाई नियाल्नका लागि किलाचन र चौँरी लेकसम्म पुग्ने गरेका छन् । चौँरी लेकबाट यतिबेला सिस्ने हिमाल र पुथा हिमालसँगै धौलागिरि रेन्ज र ढोरपाटनको सुन्दर फाँट बडो गजब देखिने गरेको रोल्पाका मिलन मगरले बताउनुभएको छ । यो चौँरी क्षेत्र हिउँदमा हिउँको घुम्टो ओढ्दा र बर्खामा आगनभरि रङ्गीबिरङ्गी फूलहरू फुल्दा निकै सुन्दर देखिने उहाँले बताउनुभयो ।

पातिहाल्ना क्षेत्रमा हिउँ नपग्लिँदासम्म हिउँ हेर्न आउने आन्तरिक पर्यटकहरूको आगमन नरोकिने भूमे गाउँपालिका-१ का दिलचन पुनले बताउनुभयो । पातिहाल्नामा दैनिक रूकुम पूर्वसहित विभिन्न छिमेकी जिल्लाहरूबाट आउने आन्तरिक पर्यटकहरू फोटो, भिडियो खिच्न, टिकटक बनाउनमै व्यस्त देखिने गरेको उहाँले बताउनुभयो । कतिपय मानिसहरू एक अर्कालाई हिउँ हानेर रमाइरहेको दृश्य पनि देख्न सकिन्छ । रूकुम पूर्व, बागलुङ र रोल्पा तीन जिल्लाको सिमानामा रहेको पातिहाल्ना र यस आसपासको क्षेत्र प्रचुर पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । रासस

बुधबार, २१ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा