file photo

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन व्यस्त छिन् । उमेरले ६१ वर्ष पुगेकी धनिसराले घर खर्चमा मद्दत पुगोस् भनेर केही आम्दानी हुने आशमा दुनाटपरी बनाउन सुरु गरेकी हुन् । वनमा खेर गएको सालको पातबाट जीविकोपार्जनका लागि दुनाटपरीका लागि लाफा बनाएर बिक्री गर्न थालेको उनले बताइन् ।

बगुवनकै केसरी सिञ्जालीले पनि हिजोआज सालको पातबाट दुनाटपरी गाँस्न थालेकी छिन् । घरको आर्थिक अवस्था कमजोर भएकाले नुनतेलको जोहो गर्न भए पनि दुनाटपरी बनाउन सुरु गरेको केसरीले बताइन् ।

चारैतिरबाट नदी र जङ्गलले घेरिएको बगुवन गाउँमा आर्थिक उपार्जनको दिगो स्रोत नभएपछि स्थानीय महिला सालको पातबाट जीविकोपार्जनको उपाय खोज्न थालेका हुन् ।

ज्याला मजदुरी र कृषि कर्मबाट फुर्सदको समयलाई सदुपयोग गरी महिलाले घरायसी कामकाजसँगै दुनाटपरी बनाउने गरेका छन् । यहाँका महिला फुर्सदको समयमा जङ्गल गई सालको पात टिपेर ल्याउने र घरमै बसेर लाफा लगाउने कार्यमा व्यस्त रहन्छन् ।

वनबाट ल्याएको सालको पातबाट लाफा बनाएर केही दिन घाममा सुकाएपछि बिक्री गर्ने गरिएको छ । एक सयवटा टपरीको एक मुठा हुन्छ । एक मुठाको एक सय ५० रुपैयाँ प्राप्त हुने स्थानीयको भनाइ छ ।

आयआर्जनको अन्य विकल्प नभएपछि टपरी बनाएर भए पनि केही आम्दानीको उपाय खोजिएको दिनुढेगा मगरले बताइन् ।

भौगोलिक अवस्थितिका आधारमा विकट मानिएको बस्तीमा सरकारले केही अवसर सृजना गर्नुपर्ने दिनुको सुझाव छ । ‘हामीलाई केही सीपसँगै काम दिए हुन्थ्यो भन्ने लाग्छ, नारायणी नदीको डुबान, चितवन राष्ट्रिय निकुञ्जका जनावरको आक्रमण डरले गर्दा हामी सधैँ पीडित भएका छौँ’, उनले भनिन् ।

वनजङ्गलमा खेर गएको पातसँगसँगै पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्ने कार्यक्रममा जोडेर स्थानीय महिलालाई रोजगारी प्रदान गरिने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । विनयी जैविक मल उत्पादन उद्योग सञ्चालन गरिएकाले स्थानीयलाई सहज रोजगारी सृजना हुने अध्यक्ष गिरीको भनाइ छ ।

आइतवार, १८ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !