Trending
नेपालमा आज (मार्च १) देखि प्रि–मनसुन सुरु भएको छ । मौसमविद्का अनुसार फेब्रुअरी महिनासँगै हिउँद याम (विन्टर) पनि बिदा भएकाले आज (फागुन १७) देखि प्रि–मनसुन लागेको हो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी ३ मिहनालाई हिउँद मानिन्छ भने मार्चदेखि प्रि–मनसुन लाग्छ । ‘अब मार्च, अप्रिल र मे गरी ३ महिनालाई प्रि–मनसुनको अवधि मानिन्छ’, शनिबार बिहान मौसमी गणनाबारे जानकारी दिँदै उनले नेपालखबरसँग भने, ‘तर मनसुन नभित्रिँदासम्म प्रि–मनसुन नै मान्नुपर्ने हुन्छ ।’
तर नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख भएकाले त्यसअघिसम्मको अवधिलाई प्रि–मनसुन नै मान्नुपर्ने मौसमविद् लामिछानेको भनाइ छ । त्यसो त मनसुन भित्रिने औसत मिति जुन १३ तारिख भए पनि २÷४ दिन अघिपछि पनि हुनसक्छ । अबदेखि वर्षासँगै चट्याङ पर्ने र हावाहुरी आउने क्रम बढ्ने उनले बताए ।
‘प्रि–मनसुनमा झरी टाइपको लामो वर्षा चाहिँ हुँदैन, छोटो समयमा चट्याङ र हावाहुरीसँगै धेरै वर्षा हुने हुन्छ’, मौसमविद् लामिछानेले भने । उनका अनुसार मनसुन भित्रिएपछि जुन, जुलाई, अगस्ट र सेप्टेम्बर ४ महिनालाई मनसुन अर्थात् वर्षायाम मानिन्छ। यसपछि अक्टोबर र नोभेम्बर २ महिनालाई पोस्ट मनसुन सिजन मानिन्छ भने डिसेम्बरमा फेरि हिउँद याम अर्थात् विन्टर सिजन सुरु हुन्छ । यो सिजन फेब्रुअरी महिनाभर रहन्छ ।
‘यस अर्थमा हिजो रातिसम्मको वर्षालाई हिउँदे वर्षा मानिन्छ मौसमविद् लामिछानेले भने, ‘अब आज (मार्च १) देखि हुने वर्षालाई भने हिउँदे वर्षा मानिन्न, किनभने प्रि–मनसुन सिजन लागिसक्यो ।’ हिउँदभर खासै वर्षा हुन नसके पनि अन्तिम अवधितिर भने देशका धेरै स्थानमा पानी परेको छ । गए राति पनि देशका धेरै स्थानमा वर्षा तथा हिमपात भएको मौसम महाशाखाले जनाएको छ । राजधानी काठमाडौँमा पनि हल्का किसिमको वर्षा भएको मौसमविद् लामिछानेले बताए ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भइहेको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना र छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ ।
आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।