Trending
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन्।
शुक्रबारबाट ललितपुरमा सुरु नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुभारम्भ गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी आफ्नो बिचार र लक्ष्यका साथ अघि बढिरहेको भन्दै अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका हुन्।
कहिले एमाले र केहीले माओवादीसँग एकीकरण गर्न लाग्यो भन्ने हल्लामा कुनै सत्यता नरहेको उनले बताए। अध्यक्ष नेपालले आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने भन्दै उनले तत्कालीन अवस्थामा गरेको बिद्रोहको औचित्य पुष्टि हुँदै गएको दाबी गरे।
उनले वर्तमान सरकारले बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोजको आरोप लगाए। सरकारका गलत कामको विरोध गर्दै अघि बढ्नुपर्ने उनले बताए। उनले समाजवादको पक्षमा रहेका शक्तिहरुलाई एकतावद्ध गर्नका लागि पहलकदमी लिइरहेको जिकिर परे। बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनका साथै १३ बुँदे आचारसंहिता पेस गरेका छन्। निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नुपर्ने लगाएतका बिषय आचारसंहितामा समेटिएको छ।
उनले वर्तमान सरकारले संसद्को नियम, नियमावलीलाई मिच्ने कुरादेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहेको उनले बताए। वर्तमान सरकार आफ्ना आलोचकहरुलाई घाँटी निमोठ्न अग्रसर रहेको उनले बताए।