कृष्णपुर नगरपालिका-२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार(सान) लगाउने कार्य गर्छन्। चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै हो।

यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले बताए। साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उनले धारिलो बनाउँछन्। तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायबापत रानाले दैनिक करिब रु एक हजार जति आम्दानी हुने गरेको सुनाए।

‘बिहानको नास्ता गरेर घरबाट निस्किन्छु। साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु’, उनले भने। रानाले कहिलेकाही धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताए।

खाना खर्च कटाएर दैनिक रु सात सय जति बचत हुने गरेको उनी बताउँछन्। सान लगाउनेकार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आएका हुन्। पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको समेत बताए। स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ।

‘घरखर्च यसैबाट आएको कमाईले धानिदै आएको छ। मुक्तकमैया पुनःस्थापना कार्यक्रमअन्तर्गत पाइएको घरबासको जग्गा मात्रै छ। अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु’, उनले भने, ‘पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन्। हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ।’

विसं २०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफैले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताए। ‘कमाइ गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु’, उनी भन्छन्, ‘अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ। बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन्। हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्दैनन्। बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन।’

रानाले चक्कु, हसिया, चुलेसीलगायतमा धार लगायबापत २० रूपैयाँ, खुकुरी, बञ्चरोमा धार लगायबापत ५० रूपैयाँ र तरबारको एकसय रूपैयाँ ज्याला लिने गरेका छन्। पहिला महिनाको ३० हजार रूपैयाँसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले १५ हजारदेखि २० हजार रूपैयाँसम्म कमाइ हुने गरेको उनले जानकारी दिए।

‘बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ। छोरा बुहारीसँग हात फैलाएर माग्नु परेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु’, रानाले खुसी हुँदै भने। रासस

बिहिबार, २७ मंसिर, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे