Trending
धनगढीमा आयोजित ‘शनिबारीय मेला’मा थारु खानाका परिकार ग्राहकको रोजाइमा परेपछि सुनितादेवी चौधरी खुसी हुन्थिन्। महिलालाई लक्षित गरी सुरु गरिएको ‘शनिबारीय’ मेलामा थारु समुदायका ढिक्री, मच्छिक शिकार, अन्डिक भातलगायत परिकार ग्राहकको रोजाइमा परेपछि आम्दानी हुने नै भयो ।
धनगढी उपमहानगरपालिका–१५ सुर्मी गाउँकी चौधरीले मौलिक परिकार बेचेर एकैदिन रु पाँच हजार आम्दानी भएपछि मख्ख देखिइन् । ‘घरायसी कामबाहेक अन्य काम नजानेका कतिपय ग्रामीण महिलालाई मेलाले आम्दानी गर्ने बाटो देखाएको छ । हाम्रा परिकार ग्राहकको रोजाइमा पर्न थालेपछि मैले पनि यसैलाई उद्यमको रूपमा विकास गरिरहेकी छु’, उनले भनिन्, ‘शनिबार एकैदिन मध्याह्नदेखि बेलुका ५ बजेसम्म रु पाँच हजारको परिकार बिक्री हुने गरेको छ।’
महिला मात्र सहभागी हुन पाउने गरी आयोजना हुने मेलामा अन्य समुदायका खाना परिकार र विभिन्न सामग्री पनि बिक्रीका लागि राख्ने गरिन्छ । मेलामा सहभागी हुने यहाँका ग्रामीण महिलाले ग्राहकसँग कारोबार गर्न सिकेको र यसले दीर्घकालीन रूपमा फाइदा पुग्ने कतिपयको भनाइ छ ।
यहाँ धेरैको रोजाइमा रैथाने परिकारहरू पर्ने गरेका छन् । तातोपानीको बाफको सहायतामा पकाइने चामलको पिठोको ढिक्री थारु समुदायमा खानाको स्वादिष्ट परिकार मानिन्छ । रैथाने जातको अन्दी धानको चामलबाट पकाइएको ‘अन्डिक भात’ पनि धेरैको रोजाइमा पर्छ ।
अर्की महिला उद्यमी मधु चौधरीले मेलाले आफूहरूका लागि स्वरोजगार अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘घरमा काम नभएर त्यसै बस्नुभन्दा मेलामा पुगेर खानाका परिकार बेचेर कमाइ गर्न पाएका छौँ । यसले सीप निखार्दै आम्दानी गर्ने अवसर सिर्जना गरिरहेको छ।’
स्थानीय सूर्यप्रकाश जोशी महिलालाई मात्र लक्षित गरी सुरु भएको मेला एक मौलिक सुरुवात भएको बताउँछन् । उनी भन्छन्, ‘महिलालाई लक्षित गरेर गरिएको यो मेला एक नयाँ सुरुवात पनि हो । यसले उनीहरूलाई उद्यमशील र स्वरोजगार बन्न टेवा पुर्याएको छ । मेलाको दिगो व्यवस्थापनमा ध्यान दिन जरूरी छ।’
धनगढी उपमहानगरपालिकाको पहलमा यो मेला सुरु भएको हो । गत शनिबार यसको दोस्रो शृङ्खला सम्पन्न भएको छ । महिलाद्वारा उत्पादित सामग्री तथा वस्तु बिक्री वितरणमा टेवा पुर्याउन स्थानीय महिलाका लागि ‘शनिबारीय’ मेला सुरु गरिएको र यसको दिगो व्यवस्थापन गरिने नगरप्रमुख गोपाल हमालको प्रतिबद्धता छ।
‘महिलाले सीपमूलक तालिम लिएर पनि त्यसको व्यवहारिक उपयोग नभइरहेको अवस्थामा उनीहरूको सीपको प्रयोग गरी उद्यमशीलता प्रवर्द्धनमा गर्ने उद्देश्यले मेला आयोजना गर्न थालिएको छ । यसले महिलाको सीपको व्यवहारिक प्रयोग गर्न टेवा पुग्ने विश्वास छ’, उनले भनिन्, ‘आगामी दिनमा धनगढीमा बसेर अध्ययन गर्दै गरेका युवालाई लक्षित गरेर रात्रिकालीन बजारसमेत सञ्चालन गर्ने योजना छ। ‘
मेलामा व्यवस्था गरिएका ६० भन्दा बढी विभिन्न स्टलमा महिलाद्वारा उत्पादित विभिन्न सामग्री र स्थानीय खानाका परिकार बिक्रीका लागि राख्ने गरिएको छ । यहाँ मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिएको छ, जसले ग्राहकलाई स्थानीय परिकारको स्वादसँगै मनोरञ्जन लिने गर्छन्। उद्यमी आम्दानी हुने भएपछि त्यसै मख्ख ।
सांस्कृतिक कार्यक्रमका संयोजक गुणाकर पनेरु मेला स्थानीय महिलाको सीपको सदुपयोग गर्नाका साथै स्थानीय संस्कृति संरक्षणमा टेवा पुर्याउने बताउँछन् । ‘भर्खरै मेला सुरु भएको छ। यसलाई व्यवस्थित गर्दै यहाँको मौलिक कार्यक्रमका रूपमा विकास गर्दै लैजानुपर्छ’, उनले भने ।