पछिल्लो समय यहाँ काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा संकटमा पर्दै जान थालेको छ। चुँदारा समुदायले परम्परागत रुपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए।
आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडा बिक्री हुन थालेपछि आफ्नो पेसा संकटमा परेको मालिका गाउँपालिका‐७ घमिरका नरबहादुर कार्कीले बताए।
आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सुपथ मूल्यमा आकर्षक देखिने आधुनिक प्रविधिका भाँडाकुँडा प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुर्ख्यौली पेसा संकटमा पर्न थालेको कार्कीले बताए।
ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिएका ठेका, आरी जस्ता भाँडा दूध, दही र मही राख्नका लागि प्रयोग गरिन्छ। काठका भाँडामा राखेको दही र मही चाँडो नबिग्रिने हुँदा खानका लागि निकै स्वादिलो र राम्रो मानिन्छ।
पछिल्लो समयमा बिस्तारै गाउँघरमा काठबाट निर्मित सामग्री बिस्तारै लोप हुँदै जान थालेको मुसिकोट नगरपालिका-२ का धनबहादुर नेपाली बताउँछन्। नयाँ पुस्ता बिस्तारै गाउँ छाडेर सहर तथा विदेश जाने र पुराना पुस्तामात्रै रहेपछि यस्तो समस्या आएको उनले बताए।
परम्परागत पेसा र पुराना सामग्रीको संरक्षण गर्न स्थानीय पालिकाले पनि खासै चासो देखाएका छैनन्। पालिकाले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत खासै प्राथमिकता नदिइएको चुँदारा समुदायको गुनासो छ।
परम्परागत पेसाको संरक्षण र त्यसको बजारीकरणमा खासै चासो नदिँदा गाउँघरमा बिस्तारै काठका भाँडा लोप हुँदै जान थालेका हुन्। बजारमा पाइने प्लास्टिकबाट निर्मित भाँडा झट्ट देख्दा आकर्षक देखिने र मूल्य पनि काठका भाँडाको तुलनामा सस्तो पर्ने भएका कारण पनि यस्तो समस्या आएको गुल्मी उद्योग संघका वरिष्ठ उपाध्यक्ष जनक पन्तले बताए। यस्ता प्रकारका परम्परागत सामग्री र वस्तुहरुको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि पालिकाहरुले विशेष ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए।
परम्परागत शैलीबाट निर्माण हुने सामग्रीहरुको उत्पादन गर्न समय धेरै लाग्ने र अलि खर्चिलो हुने बताइएको छ। परम्परागत रुपमा यो पेसा गर्दै आएका व्यवसायी पछिल्लो समयमा काठका भाँडा बनाउने पेसाबाट आफ्नो गुजारा चलाउनसमेत गाह्रो भएको बताउँछन्। आफूले निर्माण गरेका सामग्री बिक्रीका लागि गाउँगाउँ डुलाउँदा पनि कहिलेकाहीँ बिक्री नहुँदै रित्तै खाली हात फर्किनु परेकोे छत्रकोट गाउँपालिका‐१ हुँगाका यमन सुनारले गुनासो गरे।
काठबाट निर्मित भाँडाको महत्वका बारेमा जानकारी नभएका कारण पनि पछिल्लो समयमा चुँदाराको पेसा संकटमा परेको हो।
गाउँघरमा गिठीको काठबाट निर्माण गरिएका ठेकाको मूल्य बजारमा सात सय रूपैयाँदेखि छ हजार रूपैयाँभन्दा धेरै मूल्य पर्ने गर्दछ। जिल्लामा पछिल्लो समयमा आयोजना गरिने मेला महोत्सवलगायत सहकारी पसल र कोसेली घरमा यस्ता प्रकारका सामग्री बिक्रीका लागि राखिएका हुन्छन्। रासस