संखुवासभासंग जोडिएका बिभिन्न संघ, संस्थाले यसपाली हरितालिका तिज सामूहिक रुपमा मनाउने बिषयमा छलफल गरेकाछन् । संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसिएशनले आफ्नै कार्यालय काठमाडौको ज्ञानेश्वरमा गरेको बिभिन्न संघ, संस्थाका अध्यक्ष र प्रतिनिधिको भेलाले सामूहिक रुपमा संखुवासभालीको भेला गरेर दर खाने र शुभकामना आदान –प्रदान गर्ने बिषयमा छलफल गरेको हो । बिगतमा छुट्टा छुट्टै दर खाने र शुभकामना आदान प्रदान गर्ने कार्यक्रम गरीदै आएकोमा यस पटक भने सबै संघ,संस्थाको सामूहिक आयोजनामा यस्तो कार्यक्रम गर्ने भन्ने बिषयमा छलफल भएको हो । संखुवासभा चैनपुर सामाजिक सेवा समितिका अध्यक्ष तथा राष्ट्रिय वाणिज्य बैकका पूर्व कार्यकारी प्रमुख किरण श्रेष्ठले यस्तो सामूहिक कार्यक्रमले एकताको सन्देश दिने भन्दै सामूहिक रुपमा तीज मनाउनुको छुट्टै महत्व हुने बताउनुभयो । उहाँले आफ्नो संस्थाले खेल्ने भूमिका र सामूहिक तीज कार्यक्रममा आफ्नो संस्था आयोजक भएर काम गर्न इच्छुक रहेको पनि बताउनुभयो ।
संखुवासभाका चेलीहरुलाई यसरी संयुक्त रुपमा आह्वान गरेर तीज पर्व मनाउनुको मर्म बेग्लै हुने संखुवासभा राष्ट्रिय सेवक कर्मचारी समाजका अध्यक्ष तथा जलबिद्युतको क्षेत्रमा लगानी गर्ने संस्था एचआईडिसिएलका प्रमुख अर्जुन गौतमको भनाई थियो । शेर्पा किदुक संखुवासभाका अध्यक्ष मिङ्मा दोर्ची शेर्पा, एड्भान्स क्लब संखुवासभाका अध्यक्ष गौरीमान राई, नेपाल भोटे जनजाती सेवा समितिका उपाध्यक्ष तथा हिमालयन भोटे समाजका महासचिव तेम्बा भोटेले तीज पर्वलाई सामूहिक रुपमा एकै स्थानमा मनाउन आवश्यक रहेकोमा जोड दिए ।
भोटखोला युवा सरोकार मञ्चका महासचिव सुन्दर भोटे, संखुवासभा कलाकार चौतारिका अध्यक्ष कमल खत्री, संखुवासभा पर्यटन बिकास समाजका महासचिव सुजन खालिङ राई, नेपाल भोटे जनजाति सेवा काठमाडौकी महिला उपाध्यक्ष याङ्छेन भोटेलगायतले छुट्टा छुट्टै भन्दा सामूहिक रुपमा आ–आफ्नो संस्कृति आदान प्रदान गर्दे तीज मनाउनु पर्ने धारणा राख्नुभयो । आ–आफ्नो संस्थामा छलफल पछि यहि आउदो भदौ दोस्रो हप्ता तीजको शुभकामना आदान प्रदानसहित दर खुवाउने कार्यक्रम राख्ने बिषयमा छलफल भएको थियो । दोस्रो बैठकले स्थान र मिति तय गरी कार्यक्रमलाई तीव्रता दिने बताइएको छ । कार्यक्रममा संखुवासभाकै उत्कृष्ट कलाकारहरुले सांगितिक प्रस्तुति पनि दिनेछन् ।