Trending
साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत रोपाइँ मात्र भएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । त्यसमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत वर्ष सुदूरपश्चिममा यतिबेला त्यहाँ ९९.२ प्रतिशत रोपाइँ भएको थियो ।सबभन्दा कम रोपाइँ कोशी प्रदेशमा भएको छ ।
कृषि मन्त्रालयको तथ्यांकअनुसार त्यहाँ २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ५० हजार ६२४ हेक्टर अर्थात् ९०.७ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यतिबेला त्यहाँ ८३.६ प्रतिशत रोपाइँ भएको थियो ।
सबभन्दा ढिलो रोपाइँ हुने मधेस प्रदेशमा यसपटक अन्य प्रदेशकै हाराहारीमा रोपाइँ भएको छ । त्यहाँ ३ लाख ८३ हजार १५० हेक्टरमध्ये ३ लाख ५२ हजार ४४३ हेक्टर अर्थात् ९२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, जब गत वर्ष यतिबेला त्यहाँ ५८.८ प्रतिशत रोपाइँ मात्र भएको थियो ।
त्यस्तै बागमती प्रदेशमा एक लाख १२ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये ९०.८ प्रतिशतमा रोपाइँ सकिएको छ । गण्डकी प्रदेशको ९६ हजार ५३ हेक्टर क्षेत्रफलको ९१.९ प्रतिशतमा रोपाइँ सकिसकेको छ ।
लुम्बिनी प्रदेशमा तीन लाख ११ हजार ६४३ हेक्टरमा त्यहाँ रोपाइँ हुन्छ । त्यसमध्ये ९१.३ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ । कर्णाली प्रदेशको ४१ हजार ९०४ हेक्टर जमिनमध्ये ९६.९ प्रतिशतमा रोपाइँ सकिएको कृषि मन्त्रालयले जनाएको छ ।
यसपालि समयमा मनसुन सुरु भई नियमित पानी परेका कारण समयमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ ।