Trending
बुटवलको मणिमुकुन्द सेन उद्यान अर्थात् फूलबारी पार्कको एक वर्षमा सात लाखले अवलोकन गरेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा झण्डै साढे पांँचलाख जनाले सःशुल्क र एक लाख ५० हजार जना निःशुल्क प्रवेश गरेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले जनाएको छ ।
फूलबारी घुम्न आउनेमा ५७ हजार भारतीय पर्यटक र तीन लाख ९० हजार आन्तरिक पर्यटक रहेको उद्यान समितिले जनाएको छ । टिकट बिक्री, वनभोजको स्टल बुकिङ लगायतबाट तीन करोड ७३ लाख आम्दानी भएको उद्यान समितिका महासचिव युवराज घिमिरेले जानकारी दिए । बुटवलको मुख्य बजारबाट तिनाउ पारी रहेको मणिमुकुन्द सेन उद्यान अर्थात् फूलबारी पार्क पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
रुपन्देहीमा बुद्ध जन्मस्थल लुम्बिनीपछि धेरै पर्यटक आउने ठाउँसमेत हो । फूलबारीमा रमणिय उद्यानका साथै मणिमुकुन्द सेनले बुटवलमा निर्माण गरेको शीतकालिन दरबारको भग्नावशेषसमेत छ । तत्कालीन पाल्पाली राजा रुद्र सेनका जेठा छोरा मुकुन्द सेन विक्रम सम्वत् १५७५ मा पाल्पाका राजा भएका थिए । विक्रम सम्वत् १६१० मा देवघाटमा तपस्यामा लीन भई सिद्धि प्राप्ति गरेपछि मुकुन्द सेनलाई मुनि मुकुन्द हुँदै मणिमुकुन्द भन्न थालियो ।
राजकाजमा पोख्त राजा मणिमुकुन्द सेनले बुटवलमा शीतकालीन तथा पाल्पा र रुपन्देहीको सीमाक्षेत्र नुवाकोटमा गृष्मकालीन दरबार निर्माण गरी राज्य चलाएको बताइन्छ । सेन वंशका राजाले रंगमहलका रूपमा प्रयोग गरेको यो दरबार १८औं शताब्दीमा जितगढीमा भएको अंग्रेज फौजसँगको युद्धमा नेपाली सैनिकले प्रयोग गरेका थिए । त्यही युद्धको क्रममा अंग्रेज फौजको आक्रमणमा दरबार भत्किएको थियो भन्ने इतिहास छ ।
उद्यान परिसरमा मिनी चिडियाखानासमेत छ । जहाँ चितुवा, भालु, बाँदर, स्याल, वनबिरालो, सेतो मुसा, हरिण, नीलगाई, जरायो, मृग, अजिंगर, खरायो, कछुवालगायत जनावर र मयुर, सुगा, ढुकुर, परेवालगायत चराचुरुङगीको संरक्षण गरी राखिएको छ । चुरे पहाडको काखमा बोटबिरुवाको हरियाली र रंगीचंगी फूलका बाटिकासहितको प्राकृतिक छटाले भरिएको यो उद्यान, बुटवल बजारको उखरमाउलो गर्मी छल्ने उपयुक्त विकल्प बनिरहेको छ ।
उद्यानभित्र पर्यटकलाई आकर्षित गर्न विभिन्न बाटिका र बाल उद्यान निर्माण गरिएका छन् । संघ संस्था र समुदायले आयोजना गर्ने कार्यक्रम, वनभोज, विवाह, भेटघाटका लागि फुलबारी पहिलो रोजाइ बन्ने गरेको छ । गत आर्थिक वर्षमा उद्यान परिसरमा तीन करोड ३७ लाख बराबरको काम गरिएको छ । यो अवधिमा शिवालय मन्दिर पुनर्निर्माण, कुंडुले घर तथा सन्चोबिसन्चो केन्द्र निर्माण चिडियाखाना र बगैंचा निर्माण निर्माण तथा व्यवस्थापन लगायतका कार्य सम्पन्न गरिएको उद्यान समितिले जनाएको छ ।
समितिका अध्यक्ष माधव नेपालले उद्यानमा विभिन्न संरचनाको विकास तथा निर्माण गर्नुपर्ने भएपछि स्रोत अभावका कारण काम अगाडि बढाउन नसकिएको बताए । उनले मणिमुकुन्द सेन उद्यान फूलबारी मात्र नभई पुरातात्विक सम्पदा भएकाले यसलाई राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गराउनका लागि सबै क्षेत्रबाट पहल हुनुपर्ने बताए । फूलबारीलाई आकर्षक बनाउन सके स्वदेशी तथा विदेशी पर्यटकसमेत भित्र्याउन सकिने उनको भनाइ छ ।
मणिमुकुन्द सेन उद्यान बुटवलको पश्चिम उत्तरतर्फ जितगढी किल्ला र पुरानो बटौली बजारको माथिल्लो भागमा अवस्थित छ । बुटवल उपमहानगरपालिका संरक्षक रहेको मणिमुकुन्द सेन उद्यान, चुरेको शिरमा रहेको ऐतिहासिकस्थल नुवाकोट पैदलमार्गको प्रस्थान विन्दु पनि हो । करिब २० हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा तिनाउ किनारको पहरामा बंगारा भेटिएका मानवपूर्खा रामापिथेकसको पूर्णकदको प्रतिमा राखिएको छ ।