Trending
वन्यजन्तुबाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिंगो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले पर्वतको महाशिला गाउँपालिकाले कृषकलाई फलफूलका विरुवा वितरण गरेको छ । कृषकलाई व्यावसायिक रूपमा फलफूल खेतीतर्फ आकर्षित गर्न यस वर्ष झण्डै साढे ११ हजार विरुवा वितरण गरिएको हो ।
पालिकाको भौगोलिक अवस्था र कृषकको मागका आधारमा पर्याप्त मात्रामा विरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष इश्वरी भुसालले जानकारी दिए । अध्यक्ष भुसालका अनुसार किसानलाई सुन्तला, कागती, टिमुर, कफि, एभोगाडो मेकाडामियानट लगायतका फलफूलका विरुवा वितरण गरिएको हो । अहिले वितरण गरिएका विरुवाबाट कृषकले दुईदेखि तीन वर्षमा आम्दानी गर्नसक्ने भएका छन् । पालिकाका फलफूल तथा काष्ठफल विस्तार योजनाअन्तर्गत ५० प्रतिशत अनुदानमा विरुवा उपलब्ध गराइएको हो ।
गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष धितालका अनुसार पालिकाका ६ वटै वडाका किसानलाई मागका आधारमा विरुवा उपलव्ध गराइएको हो । धितालले कागती चार हजार दुई सय, सुन्तला तीन हजार तीन सय, टिमुर दुई हजार पाँच सय, कफि आठ सय विरुवा वितरण गरिएको बताए । त्यसैगरी तीन तीन सयका दरले एभोगाडो र मेकाडामियानट वितरण गरिएएको छ ।
बाँदर आतंकका कारण खेतवारी बाँझो रहने क्रम बढेपछि वन्यजन्तुको क्षतिबाट बच्ने खालका एभोगाडो र मेकाडामियानट जस्ता फलफूलका विरुवा पनि पालिकामा भित्र्याइएको हो । गत वर्षदेखि पालिकामा दाँते ओखको पनि व्यावसायिक खेती थालिएको कृषि शाखा प्रमुख धितालले जानकारी दिए । हरेक कृषकले सुन्तला १५ देखि २०, कागती २५, एभोगाडो ६, मेकाडामियानट १५, टिमुर ५० र कफि ११० वटाका दरले वितरण गरिएको धितालले बताए ।
परम्परागत कृषिबालीमा आश्रित यहाँका कृषकलाई अन्नबालीसँगै फलफूलतर्फ पनि आकर्षित गर्ने योजना गाउँपालिकाको रहेको छ । घरको आँगन, बारी र खाली जमिनमा बिरुवा लगाई किसानलाई व्यावसायिक र फलफूलमा आत्मनिर्भर गराउन बिरुवा वितरण कार्यक्रम प्रभावकारी हुने पालिकाको अपेक्षा छ । धान, मकै, आलुजस्ता बालीमा बाँदरले ठूलो नोक्सानी पुर्याउन थालेपछि खेतबारी बाँझै राखेका कृषकलाई फलफूल विस्तार अभियानले उत्साहित बनाएको छ ।
पालिकाले उपलब्ध गराएका विरुवा कृषकले लगाएर छाड्ने मात्र नभई स्वरोजगारमूलक ढंगबाट लगाउन आग्रह गरिएको छ । यसको उचित संरक्षण र रेखदेख गर्नसके गाउँमै पर्याप्त आम्ददानी गर्न सकिने भएकाले पनि फलफूलका विरुवाको उचित संरक्षण गर्न पालिकाले आग्रह गरेको छ ।