Trending
पछिल्लो समय बंगाली पर्यटक आकर्षित गर्न नेपाली पर्यटन व्यवसायीले प्रचार प्रसार तीव्र पारेका छन् । सडक र हवाई मार्गको छोटो दूरीको सदुपयोग गर्दै बंगाली पर्यटकलाई नेपाल भ्रमण गराउन व्यवसायीले जोड दिएका हुन् ।
हालै बंगलादेशमा पर्यटन प्रवर्द्धन गर्न गएको होटल संघ नेपाल (हान) को प्रतिनिधिमण्डल स्वदेश फिर्ता भएको छ । गत वर्ष पनि हानको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल नेपालको प्रचार प्रसार गर्न गएको थियो । त्यसैको निरन्तरता मा यस वर्ष पनि व्यवसायी बंगलादेश गएको हानका अध्यक्ष विनायक शाहले बताए । टोलीले बंगलादेशमा एकसय भन्दा बढी ट्राभल, टूर र पर्यटन व्यवसायीसँग बीटूबी मिटिङका साथै छिमेकको उपयुक्त पर्यटकीय गन्तव्यको रुपमा नेपालको प्रचार प्रसार गरेको थियो ।
अध्यक्ष शाहले बंगलादेशका नागरिकमा पर्यटक बिदा मनाउन र कर्पोरेट गतिविधि, माइस, डेस्टिनेसन वेडिङ, हनिमुन टूरको माग बढ्दै गएको हुँदा खासगरी यी विषयमा जानकारी तथा प्याकेज सार्वजनिक गर्न कार्यक्रम फलदायी रहेको बताए । सन् २०२३ मा बंगाली पर्यटकको संख्या चौथौं स्थानमा आएसँगै नेपालको प्रचार प्रसारमा व्यवसायीले चासो बढाएका हुन् ।
काठमाडौंबाट १ घण्टाको उडानमा बंगलादेश पुग्न सकिन्छ भने सडकमार्गबाट नेपालको सीमा नाकाबाट १७ किलोममिटरको दूरीमा पग्न सकिने भएकाले पनि पर्यटन बजारको स्रोत बजार भएको अध्यक्ष शाहको भनाइ छ । यसका लागि भारत, बंगलादेश र नेपालबीचमा त्रिपक्षिय समझदारीमा अध्यागमनबाट आगमनमा सहजिकरण गर्ने हो भने थप बंगाली पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । यसका लागि सरकारी तवरबाटै सहजिकरण हुनु पर्ने पर्यटन व्यवसायीको माग छ ।
नेपाल भ्रमण गर्ने बंगाली पर्यटकले बंगाली मुद्रा टाकामा नेपालको सेवा तथा सामान खरिदमा भुक्तानी गरेको खण्डमा थप पर्यटक भित्र्याउन सकिने उनीहरुको भनाइ छ । नेपालमा बंगाली सामानको आयात हुने गरेको र त्यसको भुक्तानी टाकामै गरेको खण्डमा नेपालमा बगाली पर्यटकबाट संकलन भएको मुद्राको व्यवस्थापन हुने पर्यटन व्यवसायीको धारणा छ ।
साथै समुन्द्र र सगरमाथाको संयोजन भ्रमण प्याकेज बनाउने कुरामा पनि दुई पक्षबीच छलफल भएको छ । नेपाल तथा बंगलादेशमा आउने पर्यटकलाई समुन्द्रदेखि सगरमाथाको भ्रमण गर्ने गरि संयुक्त प्याकेज बनाएर अगाडि बढाउन सके थप पर्यटक वृद्धि गर्न सकिने उनीहरुको भनाइ छ ।
नेपाल प्राकृतिक सौन्दर्यको देश भएकाले यहाँ सभा सम्मेलन तथा विवाहका लागि पनि उपयुक्त गन्तव्य हुने अध्यक्ष शाहले बताए । सो क्रममा हान, नेपाल पर्यटन बोर्ड तथा नेपाली दूतावास बंगलादेशको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपालमा बढ्दै गएको बंगलादेशी पर्यटकको संख्या बढाउन तथा बंगाली पर्यटकलाई स्तरीय सेवा सुविधा प्रदान गर्ने उपायबारे छलफल भएको जनाएको व्यवसायीले जानकारी दिए ।
बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले दुई छिमेकी मुलुकबीच पर्यटन प्रवद्र्धनको सम्भावना धेरै भएकाले कार्यक्रम फलदायी भएको बताए । नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले उपयुक्त पर्यटन गन्तव्यको रुपमा बंगलादेशी नागरिकलाई नेपालमा रहेको आकर्षण तथा पर्यटकीय गतिविधिबारे सचित्र विस्तृत प्रस्तुतिकरण गरेका थिए । निर्देशक गौतमले नेपालका पर्यटकीय गन्तव्यबारे जानकारी गराएका थिए । कार्यक्रममा बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक साइफुल हसनले नेपालमा भएको पर्यटन विकासबाट अभिप्रेरित रही आपसी सहकार्य बढाउँदै जाने बताए ।
कार्यक्रममा बंगलादेशका सगरमाथा सफल आरोही निशात मजुमदार र बबर अलिलाई अभिनन्दन गर्नुका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा दुई देशबीच पर्यटन विकासका लागि गर्नुपर्ने प्रमुख कार्यलाई निरन्तर रुपमा सहकार्य गर्ने उद्देश्यले हानले बंगलादेशका पर्यटन विकाससँग विभिन्न समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
नेपालमा सन् २०१९ मा २५ हजार ८४९, सन् २०२० मा ४ हजार ९१७, सन् २०२१ मा ५ हजार ४४, सन् २०२२ मा २५ हजार ३८३ र सन् २०२३ मा ३६ हजार ४८३ बंगाली पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ ।