Trending
ऐतिहासिक पर्यटकीय क्षेत्र रानीमहल बाढीको चपेटामा परेको छ । पाल्पाको तानसेन नगरपालिका–१३ कालीगण्डकी तटमा रहेको रानीमहल नदीमा आएको बाढीले जोखिममा परेको हो । तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाले तटबन्धको काम नगर्दा हरेक वर्ष रानीमहल बाढीको जोखिममा पर्दै आइरहेको छ ।
तानसेन–१३ का वडाध्यक्ष टुकप्रसाद भट्टराईले रानीमहलनजिक निर्माण गरिएको पार्क बाढीले डुबाएको बताए ।
‘रानीमहल अलि माथि छ, त्यसैले बढी जोखिममा छैन,’ अध्यक्ष भटटराईले भने, ‘पर्यटकलाई लक्षित गरी बनाइएको पार्क डुबायो । त्यहाँ खाजा–नास्ताका लागि बनेका ८–१० वटा खाजा घर पनि डुबेका छन् ।’
कालीगण्डकी नदीमा पछिल्लो ८–१० वर्ष यताकै ठूलो बाढी आएको उनको भनाइ छ । तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहल क्षेत्रमा नदी गहिरिएको छ । कटान गर्दै गएकाले खतरा बढेको सशस्त्र प्रहरीको गोताखोर टोलीको रिपोर्टमा उल्लेख छ ।
यहाँ नदीले रानीमहलतर्फ बढी क्षति पुर्याउँदै आएको छ । तत्कालीन जनरल खड्गशमशेर राणाले आफ्नी रानी तेजकुमारीको सम्झनामा विसं १९५१ देखि ५४ सालसम्म तीन वर्ष लगाएर रानीमहल बनाएका हुन् । यसको संरक्षण गर्न १० वर्षका लागि तानसेन नगरपालिकालाई हस्तान्तरण भए पनि काम हुन सकेको छैन