विराटनगरमा रात्रीकालीन होटल व्यवसाय सञ्चालनको प्रभाव पर्यटन क्षेत्रमा सकारात्मक परेको व्यवसायीहरूले बताएका छन् । व्यवसाय फस्टाउन थालेपछि होटल व्यवसायीहरू पनि उत्साहित भएका छन् । रात्रीकालीन होटल व्यवसाय सञ्चालनको प्रभाव मध्यम तथा साना होटलसम्म सकारात्मक रुपमा देखिएको व्यवसायीले बताएका हुन् ।

भारतसँगको सीमा नजिक रहेका कारण सुरक्षा थ्रेट देखाउँदै रात्रीकालिन होटल व्यवसाय सञ्चालनमा रोक लाग्दै आएको थियो । पछिल्लो समय स्थानीय सरकार विराटनगर महानगरपालिका पहलमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले रात्रीकालीन होटल व्यवसाय सञ्चालनमा सहजीकरण गर्दै आएको छ । सुरक्षा संयन्त्रले गरिरहेको सहजीकरणपछि यसको प्रभाव सकारात्मक देखिएको नेपाल पर्यटन व्यवसायी महासंघ कोशीका संयोजक राजन श्रेष्ठले जानकारी दिए ।

रोडशेषमा होटल स्वागतम् सञ्चालन गर्दै आएका श्रेष्ठले रात्रीकालीन होटल व्यवसाय सञ्चालनमा सहजीकरण हुँदा ११ बजेसम्म पाहुनालाई स्वागत गर्न सकिने अवस्था बनेको जानकारी दिए । ‘क्लोजिङको समय छ, सिजन नभए पनि भारतबाट आउनेहरूले राम्रो समय बिताउन पाएका छन्’ श्रेष्ठले भने, ‘विराटनगर बसपार्क क्षेत्रमा रातिको १२ बजेसम्म पनि खाना खान पाउने अवस्था छ, एयरपोर्ट क्षेत्रको उपस्थिति चलायमान देखिँदै आएको छ ।’

उनले पछिल्लो समय भारतबाट आउने पर्यटकको सवारी चेकजाँचमा समेत प्रहरी सहजीकरण गरिरहेको बताए । सीमा क्षेत्रमा चेकजाँच गरेपछि बाँकी स्थानमा सहजीकरण गर्ने गरी काम भइरहेको श्रेष्ठको भनाइ छ । केही सकारात्मक प्रभाव परे पनि जुन हिसाबले सोचेको हो त्यो नभएको भन्दै उनले चिन्तासमेत व्यक्त गरे । रात्रीकालीन होटल व्यवसाय सञ्चालन गर्न छुट्टै जनशक्ति, युनिट तयार गर्नुपर्ने अवस्था रहेको छ ।

लागत बढ्ने भएपछि त्यहीअनुसारको अकुपेन्सी होस् भन्ने चाहना चाहिँ पूरा नभएको श्रेष्ठले जानकारी दिए । उनले कोरोनाकालपछि क्रमशः लयमा फर्किएको पर्यटन क्षेत्रलाई रात्रीकालीन होटल व्यवसाय सञ्चालनले थप ट्रयाकमा ल्याउन मद्दत गरेको बताए । यसैगरी अर्का पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठले साविक अवस्था भन्दा चहलपहल बढेको बताए ।

साना तथा मझौला होटलमा अझै धेरै सकारात्मक प्रभाव परेको श्रेष्ठको दाबी छ । ठूला होटलमा पहिला पनि राति ११–१२ बजेसम्म पाहुना आउँदा स्वागत गर्ने गरिएको श्रेष्ठको भनाइ छ । पछिल्लो निर्णयले एयरपोर्ट लाइनका रेष्टुरेन्टलाई अझै राहत मिलिरहेको बताउँदै श्रेष्ठले भने, ‘क्रमशः चहलपहल बढ्दै जाँदा आगामी असोज–कात्तिकपछि एकपटक विराटनगरको गतिविधि बढ्ने आशा छ ।’

विराटनगरका होटलमा आउने पर्यटक भनेका भारतीय हुन् । काम विशेषले आउनेबाहेक तेस्रो मुलुकका पर्यटक यहाँ आइपुग्दैनन् । भारतीय पर्यटकबाहेक यहाँ विभिन्न कामका लागि आउने आन्तरिक पर्यटक नै हुन् । व्यवसायी श्रेष्ठले सहज रुपमा रात्रीकालिन बजार सञ्चालन हुँदा यहाँ समय बिताउन चाहनेलाई समेत सहज भएको बताए । व्यवसायी श्रेष्ठले सबै कुरा सकारात्मक देखिँदै गएको दाबी गर्दै आगामी असोजपछि रात्रीकालीन होटल व्यवसाय सञ्चालनको प्रभाव देखिने दावी गरे ।

मोरङ प्रहरी प्रमुख नवराज कार्कीले मापदण्ड पालना गरेर स्वीकृत लिएका होटलले मात्रै रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पाउने बताए । उनले अहिलेसम्म स्वीकृत लिएका होटलमा धेरै गुनासो र समस्या नभए पनि सावधानी अपनाउनुपर्ने कुरामा सबै सजग हुनुपर्ने बताए । सञ्चालनका लागि स्वीकृति लिएको वा नलिएको पनि चेकजाँँच गर्नुपर्ने अवस्था आइसकेको एसपी कार्कीले बताए । सबैले हुलमुलमा रात्रीकालीन होटल व्यवसाय सञ्चालन गर्न नपाउने भएकाले नै मापदण्ड बनाइएकाले अनिवार्य स्वीकृति लिनुपर्ने र त्यस अगाडि मापदण्ड पूरा गर्नुपर्ने कार्कीले बताए ।

ठूला होटलको सवालमा धेरै समस्या नभए पनि रात्रीकालीन रेष्टुरेन्ट, गीतगजल, क्लबहरूबाट समस्या सिर्जना हुन सक्ने अवस्थालाई प्रहरीले मध्यनजर गरिरहेको कार्कीले बताए । ‘रेष्टुरेन्टमा बाहिर साउण्ड नजाने गरी गीत र बाजा बजाउने व्यवस्था मिलाउन भनेका छौं,’ कार्कीले भने, ‘रात्रीकालीन होटल व्यवसाय सञ्चालनको वातावरणको प्रभाव राम्रै पर्दै आएको देखिन्छ ।’

शुक्रबार, २१ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !