बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक चार लाख रूपैयाँ बचत गरिरहेका छन् । मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्केपछि ४१ वर्षीय थापाले ‘चन्द्रबहादुरको जिमिरे बाख्राफार्म’ मार्फत व्यावसायिक बाख्रापालन गर्दै आएका हुन् ।

आमा मनरुपा थापाले गाउँलेको अधियाँ लिएर बाख्रापालन गरी घरखर्च गर्दै आएको देखेकाले विदेशबाट फर्किएर फार्म दर्ता गरी व्यावसायिक बाख्रापालन सुरु गरेको थापाले बताए । चार वर्षदेखि उक्त व्यवसायमा लागेको भन्दै उनले सबै खर्च कटाएर वार्षिक चार लाख रूपैयाँ बचत भइरहेको जानकारी दिए । चन्द्रबहादुरको जिमिरे बाख्राफार्म अहिले यस क्षेत्रको नमूना बाख्राफार्मका रुपमा चिनिन थालेको छ। व्यावसायिक बाख्रापालनमा आमाको प्रेरणा रहेको बताउँदै उनले बाख्रापालनमा बजारीकरणको समस्या नरहेको उल्लेख गरे ।

थापाका अनुसार अहिले फार्ममा तीन वटा परम्परागत खोरमा ७५ बाख्रा र पाठा छन् । ‘आमाले अधियाँमा बाख्रापालन गरेको देख्दा बाख्राफार्म सञ्चालन गर्ने रहर थियो । लगानी अभावमा भएकाले पाँच वर्ष मलेसियामा कमाएर आएपछि सोही रकम बाख्रापालनमा लगानी गरेको हुँ’, उनले भने ।

अहिले दुई सय बाख्रा क्षमताको आधुनिक खोर निर्माणमा जुटेको जनाउँदै थापाले आमाले अधियाँमा पालन गरिरहेका बाख्रालाई आफूले व्यावसायिक बनाएको बताए । ‘लगानी नहुँदा १६ वर्ष पहिला मलेसिया पुगेँ । त्यहाँ कमाएको रकमले बाख्रापालन थालेको हुँ । आमाको दुःख देखेकाले आफू बाख्रा उद्यमी सपना देखेको थिएँ, अहिले पूरा गर्ने चरणमा छु’, उनले भने ।

एक वर्षभित्रै दुई सय बाख्रा पुर्‍याउने उद्देश्यले अहिले आधुनिक खोर निर्माण थालेको थापाले जानकारी दिए । ‘आधुनिक खोर निर्माणमा १० लाख रूपैयाँ लगानी भइसक्यो’, उनले भने, ’बाख्रापालनबाट खर्च कटाएर वार्षिक चार लाख रूपैयाँ बचत हुन्छ । स्थानीय जातका खसी, बोका यहाँ हुने भएकाले स्थानीय व्यापारीले लागि खोजी–खोजी लैजान्छन् ।’ एक वर्षमा तीस वटा बोका बिक्री गर्दै आएको जनाउँदै थापाले सरकारी निकायबाट समेत बाख्रापालनलाई प्रोत्साहन प्राप्त भइरहेको बताए ।

पहिला गाउँलेका बाख्राका पाठा लिएर अधियाँमा हुर्काउने र पाठा बढेपछि बिक्री गरी जीविकोपार्जन गर्दै आएकामा अहिले छोराले व्यावसायिक रुपमा फार्म दर्ता गरी बाख्रापालन गरेको देख्दा निकै उत्साहित भएको आमा मनरुपाले बताइन् । छोराले बाख्रापालनलाई बढाउँदै बचत भएको रकमबाट लगानी वृद्धि गरिरहेको उनको भनाइ छ ।

‘बाख्रापालनमा मेहनत गर्न सके प्रशस्त आम्दानी हुनसक्ने रहेछ । आम्दानीका लागि विदेश जानुभन्दा स्वदेशमा परिवारसँगै बसेर मेहनत गर्न सकिन्छ भन्ने उदाहरण छोराले दिएको छ’, मनरुपाले भनिन्, ‘परम्परागतरुपमा पाल्दै आएको बाख्रापालनलाई अहिले छोराले व्यवसायिकता दिएको छ ।’ उनका अनुसार तीन वटा परम्परागत शैलीका खोरमा बाख्रापालन गर्दै आएकामा अहिले आधुनिक खोर निर्माणको अन्तिम चरणमा पुगेको छ ।

बाख्रापालनको खोर सुधारका लागि भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले एक लाख १९ हजार रूपैयाँ र जैमिनी नगरपालिकाले २३ हजार रूपैयाँ अनुदान दिएको चन्द्रबहादुरले जानकारी दिए । घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घट्ने र आम्दानी बढ्ने भएकाले स्थानीय जातका बाख्रापालनलाई जोड दिइएको उनको भनाइ छ । रासस

सोमवार, १७ असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !