पार्वती गौतम शारीरिक रुपमा अपाङ्ग छन् । उनको एउटा खुट्टाले काम गर्दैन । ४३ वर्षीया गौतमले जीवनमा धेरै सङ्घर्ष र दुःख गरिन् । पार्वती अहिले सफल उद्यमी हुन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ मा व्यवसाय सञ्चालन गरिरहेका उनी धेरैका लागि प्रेरणाको स्रोत बनेकी छन् ।

आमा मनमाया र बुबा देवनारायणको कोखबाट विसं २०३८ साल भदौ १ गते काभ्रेपलाञ्चोकमा जन्मिएका उनी जन्मजात अपाङ्गता थिइन् । उनको बाल्यकाल गाउँमै बित्यो । सानैदेखि दुःखमा हुर्किएका पार्वतीले कक्षा पाँचसम्म मात्रै अध्ययन गर्न पाइन् । शारीरिक अपाङ्गता भएकै कारण उनले पढ्न पाएनन् । विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था थियो । त्यतिबेला अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री उपलब्ध थिएन । “सानोमा धेरै दुःख पाइयो”, उनी भन्छिन्, “मेरो पढाइप्रति कसैले चासो दिन्थेनन्, सबैले अपाङ्गता भएको व्यक्ति पढ्न सक्दैन भन्थे तर मैले जसोतसो कक्षा पाँचसम्म पढेँ ।”

गौतमको परिवार बसाइँ सरेर विसं २०५२ सालमा काठमाडौँ गयो । पार्वतीका बुबाको सरकारी जागिर थियो तर एकजनाको जागिरले घरखर्च चलाउन कठिन हुन्थ्यो । आमाको सहयोगमा उनले सिलाइको काम सिकिन् । विवाह नगर्ने र आफ्नो सिलाइसम्बन्धी सीपले जिविका चलाउने सोच बनाएका थिइन् । सिलाइको कामबाट आम्दानी गर्दासमेत समाजले उनको कामलाई प्रशंसाभन्दा गलत नजरले हेर्ने गर्दथे । “पढ्छुभन्दा घरपरिवारले नमान्ने, केही काम गरेर खान्छुभन्दा समाजले नपत्याउने, मैले यो समाजका लागि केही गर्न सक्छु भन्ने सोच हुँदाहुँदै अपाङ्गताप्रति हेर्ने गलत दृष्टिकोणका कारण धेरै सङ्घर्ष र पीडादायी जीवन बाँच्नुप¥यो,” उनले विगत सुनाइन् ।

जब सुर्खेतका योगेन्द्र पुरीसँग उनले विवाह गरिन् त्यसपछि एकाएक उनको जीवनले नयाँ मोड लियो । अनाथलयमा हुर्किएका पुरीसँग विवाह गरेपछि एक्लै सङ्घर्ष गरिरहेका पार्वतीले श्रीमान्को सहयोग पाइन् । पार्वती र उनका श्रीमान सुर्खेत आए । दुवै अपाङ्गता भएका व्यक्ति भएपनि उनीहरुमा केही गर्न सक्छौँ भन्ने विश्वास कायम थियो । उनीहरुसँग न त कुनै सम्पत्ति थियो, न त बस्ने ठाउँ । उनीहरुले जीवनदेखि हार खाएनन् । पार्वतीले जब अपाङ्गता परिचयपत्र पाए अनि केही सङ्घसंस्थाहरुको सहयोगमा उद्यमशीलतासम्बन्धी सीप सिकिन् ।

उनले सिलाइदेखि मम बनाउने र पुष्टकारी चकलेट बनाउने जस्ता सीप सिकिन् । त्यसपछि व्यवसाय सञ्चालन गर्ने योजना बनाइन् । योजनाअनुसार व्यवसाय गर्न पैसा थिएन । “सिकेको सीपअनुसार व्यवसाय गर्छु भनेर योजना बनाएँ तर मसँग व्यवसाय सुरु गर्ने पैसा थिएन, मैले सुर्खेतस्थित परिलक्षित संस्थाबाट सहयोग पाएँ,” उनले भनिन् ।

अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको परिलक्षित संस्थाले उनलाई आर्थिक सहयोग गरेपछि सिलाइसम्बन्धी व्यवसाय सुरु गरिन् । व्यवसायबाट आम्दानी हुन थाल्यो । पैसाको दुखमा अभाव भोगेका उनीहरुको जीवनमा नयाँ खुसी र उमङ्ग आउन थाल्यो । त्यही व्यवसायको कमाइले उनीहरुले वीरेन्द्रनगरमा घर बनाए । अहिले उनी मासिक रु ५० हजारभन्दा धेरै कमाउँन्छन् । छोराछोरी पढाउने र घर चलाउनलाई कुनै समस्या छैन ।

उनले भनिन्, “जीवनमा सङ्घर्ष गर्नुपर्दो रहेछ, सफलता प्राप्त गर्न चुनौतीलाई सामना गर्नुपर्दो रहेछ ।” उनी अहिले सिलाइको कामसँगै मम र आलु चिप्स उत्पादन गरिरहेका छन् । पार्वतीले पुष्टकारी उद्योग सञ्चालन गर्ने योजना बनाइरहेका छन् । त्यसका लागि उद्योग दर्ता गरिसकेका छन् ।

“सुर्खेतमा अहिलेसम्म काहीँ पनि पुष्टकारी उत्पादन भएको छैन्,” उनले भनिन्, “मैले यसको उत्पादनका लागि उद्योग दर्ता गरिसकेको छु, सुर्खेतबाट उत्पादन गरेर कर्णालीभर पुष्टकारी पठाउने योजना बनाएको छु ।’

सोमवार, १० असार, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !