Trending
असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन्।
मकै लगाउने समय (फागुन, चैत) मा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका म्याग्दीका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन्। ‘बारीका मकै नपसाउँदै सुक्न थालेका छन्, खेतमा राखेको धानको ब्याड पनि सुक्दै जान थालेको छ’, मालिका गाउँपालिका-४ का हिमबहादुर विकले बताए।
हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको मालिका-२ का किसान टेकबहादुर विकले बताए। ‘मकै बारीमै सुक्न थालेका छन्, खेतमा रोपाइँका लागि राखेको धानको ब्याड पनि पहेँलिँदै गएको छ, खडेरीका कारण किरा र कमिलाले बीउ खाएर नास गर्न थालेका छन्’, विकले भने।
उनका अनुसार वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन भएन।
‘अहिले खडेरी परेको छ, बारीमा छरेको मकै बारीमा सुक्न थाल्यो, यस्तै भयो भने भोकमरी हुने भयो’, मंगला गाउँपालिका-२ की किसान राधिका पौडेलले गुनासो गरिन्।