पिठ्युँको धोक्रो (बोरा) घरायसी सामानले भरिभराउ छ। बाल्टिन र पानी भरिएका केही बोतल त्यसमै छन्। अत्यधिक गर्मीले असिनपसिन। ४९ वर्षीया कृष्णा जोशी कञ्चनपुरको वेदकोट नगरपालिका– ८ स्थित रौटेलामा यस्तै अवस्थामा भेटिइन्।

उनी डडेल्धुराको परशुराम नगरपालिका– ७ मलासबाट कुलुम र अम्रिसोको झाडु बिक्रीका लागि महेन्द्रनगर झरेकी हुन्। उक्त सामान बिक्री गरेर जम्मा भएको रकमले दैनिक उपभोग्य घरायसी सामान किनेर फर्किएको उनले बताइन्।

‘कुलुम र झाडु बिक्री गरेर दुई हजार कमाइयो। त्यो पैसाले नुन, तेल, सोडा, साबुन किनेर घर फर्किँदै छु,’ उनी भन्छिन्, ‘गाउँमा खानेपानीको सुविधा छैन । पानी ल्याउन एक घण्टा हिँड्नुपर्छ । त्यसैले यतैबाट पानी भरेर लैजाँदै छु।’ उनले कुलुम प्रतिकिलोग्राम रु. ८० देखि एक सयका दरले बिक्री हुने गरेको जानकारी दिइन्।

यस्तै अम्रिसोबाट तयार गरिएको झाडु रु. ६० का दरले बिक्री हुने गरेको कृष्णाले बताइन्। मलास सडक सञ्जालसँग नजोडिँदा महेन्द्रनगरसम्म पुग्न झन्डै ६ घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। भौगोलिक रूपले विकट यहाँका स्थानीय केरा, आँप, काफल, नासपातीलगायत स्थानीय उत्पादन बिक्रीका लागि महेन्द्रनगर आउने गर्दछन्।

खानेपानी, विद्युत्, यातायातको सुविधाबाट वञ्चित मलासवासीका लागि यहाँ कुनै ठूला पसल पनि छैनन्। त्यसैले स्थानीय उत्पादन बिक्री गरेर दैनिक उपभोग्य सामानको जोहो गरेर लैजाने गरेको मलासकी चन्द्रा धामीले बताइन्।

‘गाडी चल्ने बाटो छैन। चुरेको उकालो डाँडा छिचोलेर महेन्द्रनगर पुग्न घण्टौँ पैदल हिँड्नुपर्छ,’ उनले भनिन्, ‘सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा ल्याइएको खानेपानी तीन वर्ष मात्रै चल्यो। अहिले बिग्रिएपछि एक घण्टा पैदल हिँडेर घट्टे खोलाको पानी पिउनुपर्ने बाध्यता छ।’

परशुराम नगरपालिकको केन्द्र मानिएको जोगबुढा आउजाउ गर्न तीन दिन लाग्ने गरेको मलासकै ७५ वर्षीय रामबहादुर पुन मगर बताउँछन्। उनी पनि महेन्द्रनगरमै रहेको राष्ट्रिय वाणिज्य बैंकबाट वृद्धभत्ता बुझ्ने गर्छन्।

‘गाउँनजिक बैंक छैन। जोगबुढा आउजाउ गर्न तीन दिन लाग्छ,’ उनले भने, ‘बसोवास गरेदेखि अहिलेसम्म सडक, बिजुली देख्न पाएका छैनौँ। अभावैअभावमा जीवन गुजार्‍याैँ। अब हाम्रा सन्तानले पनि यस्तो अभाव झेल्नु नपरोस्।’ रासस

मङ्लबार, ८ जेष्ठ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे