पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन्। भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार।

सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन्। सिकारका बेला कुनै अप्रिय घटना नहोस् भनेर कामना गर्छन्। सिकारमा १५ देखि २० जनासम्मको समूह हुन्छ। टोली नेताले सिकारको नेतृत्व सम्हाल्छन्। मुख्य सिकारीलाई ‘भिरौटे’ भनिन्छ। जो पराङमा झुण्डिएर मह काढ्न भिर छिचोल्छन्। ज्यानकै बाजी थापेर मह काढ्छन्।

पहाडी भेगका भिमकाय भिर र पहरामा बर्सेनि गाउँलेहरु यसरी मह सिकारमा रमाउँछन्। पितापुर्खाले छाडेको सीपलाई पछ्याउँदै उनीहरुले मह सिकारको चलन धानिरहेका छन्।

मंगलबारदेखि मह सिकारमा व्यस्त बागलुङको ताराखोला गाउँपालिका-५ का रतनबहादुर घर्तीले आफूले ३० वर्षदेखि भिरमौरीको मह काढ्दै आएको बताए। ‘हाम्रा बाउबाजेले सिकाएको मह सिकारको ज्ञान र सीपलाई हामीले अँगालेका छौँ’, उनले भने, ‘हरेक वर्ष ताराखोलामा मह सिकार हुँदै आएको छ।’

घर्तीका अनुसार ताराखोला-५ को ठूलो भिर र माडो भिरमा धेरै मात्रामा भिरमौरी पाइन्छ। यस वर्ष ठूलो भिर सामुदायिक वन क्षेत्रमा आठ घार भिरमौरीबाट दुई सय ६० लिटर मह काढिएको उनले बताए। ‘मंगलबारदेखि जुल्फे सामुदायिक वनमा पर्ने माडो भिरमा मह काढ्न सुरु गरिएको छ’, ५१ वर्षीय घर्तीले भने, ‘१४ घारको मह काढ्न अझ एक/दुई दिन लाग्न सक्छ।’

ताराखोलाका अन्य भिरमा पनि एक/दुई घार मौरी रहेको उनले बताए। कुनै वर्षमा दुई याममा मह पाइने भए पनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने घर्तीको भनाइ छ। मह सिकार जोखिमपूर्ण हुने हुँदा जो कसैले सजिलै महको सिकार गर्न नसक्ने जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीले बताए।

‘मह सिकार साहसिक र उत्तिकै जोखिमपूर्ण पनि हुन्छ, आँट र कौशल भएकालाई मात्र सिकारमा पठाउने गरिन्छ’, उनले भने, ‘पराङमा झुण्डिएर मह काढ्नुपर्छ, मौरीले आक्रमण गर्ने उस्तै डर हुन्छ।’

मह सिकारका लागि चाहिने अधिकांश सामग्री लेकाली चोयाबाट बनाउने गरिन्छ। चोया र काठबाट बनेको पराङ (भर्‍याङ) मह सिकारका लागि चाहिने मुख्य सामग्री हो। त्यसकै सहायतामा सिकारीहरु भिरमा पुग्छन्। सुथरी (डोरी), चाका झिक्ने साज, मह राख्ने डाली पनि निगालोको चोयाँबाट बनाउने गरिएको सचिव घर्तीले बताए।

‘पराङलाई रुख र रुख नभएको ठाउँमा ठूलो ढुङ्गामा बाँधेर भिरमा खसालिन्छ, त्यसबाटै सिकारी मौरीको घारनजिक पुग्छन्’, उनले भने, ‘निगालोको टुप्पोमा हँसिया बाँधेर साज बनाइन्छ, त्यसैले काटेर महको चाका घारबाट छुट्टाइन्छ र तलपट्टि डालीमा थापिन्छ।’ मौरीको टोकाइबाट बच्न जाबोले मुहार छोप्ने गरिएको उनको भनाइ छ।

मह निकालेपछि सिकारमा संलग्न र अरु सहभागीलाई बाँड्ने प्रचलन छ। धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको सचिव घर्तीले बताए। एक लिटर महलाई १५ सय रूपैयाँ सम्ममा बिक्री गर्ने गरिएको छ। ‘संस्कृति र परम्पराका रुपमा घरगाउँमा भिरमहको सिकार हुँदै आए पनि अब यसलाई व्यावसायिक बनाउन जरुरी छ’, सचिव घर्तीले भने।

ताराखोलाकै मपेसमा रहेको तीन घार भिरमौरीको मह पनि काढ्ने तयारी भइरहेको जनाइएको छ।

ग्रामीण पर्यटन प्रवर्द्धनमा भिरमहलाई जोड्दै आएको गलकोट नगरपालिका-१० रमुवाको सरस्वती युवा क्लबले अहिले ‘मह सिकार महोत्सव’कै आयोजना गरेको छ। वडा कार्यालयसँग मिलेर क्लबले बर्सेनि मह सिकारको कार्यक्रम आयोजना गर्दै आएको क्लबका अध्यक्ष उदिम घर्तीले बताए।

पछिल्लो समय साहसिक मह सिकार पर्यटकीय आकर्षणसमेत बन्न थालेको उनको भनाइ छ। औषधिजन्य गुण र स्वास्थ्यवद्र्धक मानिने हुँदा उपभोक्ताले पनि खोजीखोजी भिर मह प्रयोग गर्छन्। मह सिकार हेर्न र महको स्वाद लिन पनि रमुवामा आगन्तुकको सङ्ख्या बढ्दै गएको अध्यक्ष घर्तीले बताए।

रमुवाका भिरमा प्रशस्त भिरमौरी पाइने गलकोट-१० का अध्यक्ष भक्तबहाुदर काउचाले बताए। गाउँलेले पुस्तौँदेखि मह सिकार गर्दै आएको उनको भनाइ छ। ‘अनुभवी सिकारीले रैथाने सीप र प्रविधिमार्फत मह सिकार गर्दै आएका छन्’ वडाध्यक्ष काउचाले भने, ‘पछिल्लो समय यसलाई उत्सवकै रुपमा लिन थालिएको छ।’ मह सिकारलाई साहसिक पर्यटनसँग जोड्नुपर्ने उनले बताए।

ताराखोला, बडिगाड, गलकोटको रमुवालगायत बागलुङका अन्य ठाउँमा पनि मह सिकार हुँदै आएको छ। गलकोट नगरपालिका-४ निलुवामा पनि केही वर्षअघि ‘मह सिकार महोत्सव’ आयोजना गरिएको थियो।

निलुवाको पाँच सय मिटर अग्लो भिरमा पनि रमुवाकै अनुभवी सिकारीले मह काढेका थिए। कास्कीको अन्नपूर्ण गाउँपालिका-७ लान्द्रुकस्थित कोटेसाङमा आउँदो जेठ ८ गतेदेखि १० गतेसम्म ‘मह सिकार महोत्सव’ आयोजना गरिएको छ। पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला तथा संस्कृतिको संरक्षण हेतुले उक्त महोत्सव गर्न लागिएको वडाध्यक्ष भरतमान गुरुङले बताए। रासस

बुधबार, २६ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !