Trending
ग्लोबल आइएमई बैंक उत्कृष्ट बनेको छ । सबैभन्दा धेरै सूचकाङ्कहरूमा अगुवाई गर्दै ग्लोबल आइएमई उत्कृष्ट बैंक बनेको हो ।
वाणिज्य बैंकहरूले प्रकाशित गरेका पछिल्ला वित्तीय विवरणहरू, बैंकहरूले विगत तीन वर्षमा सेयरधनीलाई वितरण गरेको लाभांश दर, गत वर्ष सरकारलाई तिरेको कर रकम, रोजगारी सिर्जना तथा वित्तीय पहुँचमा पुर्याएको योगदान, संस्थागत सामाजिक उत्तरदायित्वमा गरिएको खर्च, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणसहित प्रकाशित वार्षिक प्रतिवेदन, विगत तीन वर्षमा वार्षिक साधारणसभाको नियमितता, सुशासनसँग सम्बन्धित भएर नेपाल राष्ट्र बैंकले गरेको कारवाही सम्बन्धि विवरणहरु लगायत १५ वटा सूचकाङ्कहरूमा संकलित विवरणहरुका आधारमा विकास मिडियाले बैंकहरुको मूल्याङ्कन गरेको हो ।
विकास मिडियाको मूल्याङ्कनमा २० वाणिज्य बैंकहरु मध्ये नबिल दोस्रो र एनआईसी एशिया बैंक तेस्रो ठूलो र प्रभावकारी देखिएका छन् । पूणर् सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंक चौथो स्थानमा रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेघा बैंक टप फाइभमा परेको छ ।
सेयर पुँजी, कुल सम्पत्ति, निक्षेप परिचालन र सरकारलाई तिरेको कर रकममा ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि छ । बैंकको कुल पुँजी कोष, बैंकको शाखा संख्या र कर्मचारी संख्याको आधारमा यो बैंक दोस्रो स्थानमा छ । सामाजिक उत्तरदायित्वतर्फ गरेको खर्च, ब्याजदर अन्तर, सेयरधनीलाई दिएको लाभांश, पुँजी कोष अनुपात, निक्षेकर्जा अनुपात लगायत वित्तीय सन्तुलनका सूचकाङ्कमा राम्रा ७ वटा बैंकभित्र ग्लोबल आईएमई बैंक परेको छ । वार्षिक साधारणसभाको नियमितता, सेयरधनीलाई नियमित लाभांश वितरण गर्न सफल भए पनि बैंकले सेयरधनीलाई दिने लाभांश गत वर्ष एकल अंकमा झरेर सातौं नम्बरमा सीमित भएको छ ।
बढ्दो खराब कर्जा, खस्कँदो सेयर मूल्य र राष्ट्र बैंकले गत वर्ष गरेको कारवाही संख्या यो बैंकको कमजोर पक्ष हुन्, जसलाई सुधार गर्न बैंकले राम्रै मिहिनेत गर्नुपर्ने देखिन्छ । सेयर मूल्यका आधारमा २० बैंकमध्ये ग्लोबल आईएमई बैंक १३औं स्थानमा छ ।
विगत तीन वर्षमा नबिल बैंकले सेयरधनीलाई ७८.५५ प्रतिशत लाभांश वितरण गरेको छ, जुन २० वाणिज्य बैंकमध्ये सबैभन्दा उच्चदर हो । सेयरधनीलाई उच्च लाभांश खुवाउन सफल यस बैंकले गत आर्थिक वर्षमा नेपाल सरकारलाई सबैभन्दा बढी कर बुझाएको लेखापरीक्षण भई प्रकाशित वार्षिक प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष २०७९/८० मा नबिल बैंकले २ अर्ब ८० करोड ३० लाख ८३ हजार ३२९ रुपैयाँ कर तिरेको छ ।
यद्यपि, आर्थिक वर्ष २०७९/८० मा बैकिङ क्षेत्रबाट सबैभन्दा बढी कर तिरेको भन्दै सरकारले ग्लोबल आईएमई बैंकलाई सम्मानित गरेको थियो । लेखापरीक्षण भई प्रकाशित वासलातमा ग्लोबल आईएमई बैंकले २ अर्ब ७८ करोड ८१ लाख २ हजार ४५२ रुपैयाँ कर तिरेको देखिन्छ । तर, बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा आव २०७९/८० मा बैंकले नेपाल सरकारलाई संस्थागत आयकर र श्रोतमा कर कट्टी गरी करिवब ६ अर्ब ४० करोड रुपैयाँको योगदान गरेको उल्लेख छ ।
कुल निक्षेप परिचालन र कुल सम्पत्तिको आधारमा नबिल बैंक दोस्रो स्थानमा छ । पुँजी कोष र सेयर मूल्यका आधारमा यो बैंक तेस्रो स्थानमा छ । पछिल्लो समय यस बैंकको खराब कर्जा बढेर ४ प्रतिशत नाघ्नु र सेयरधनीलाई दिने लाभांश दरमा उच्च गिरावट आउनु यस बैंकको मुख्य चुनौती हो । विगत धेरै वर्षसम्म वाणिज्य बैंकहरु मध्ये सबैभन्दा महँगो रहेको नबिल नविलको सेयर तेस्रो स्थानमा झरेको छ । वित्तीय बजारमा नबिल बैंकलाई धेरैले अनुसरण गर्दै आएका छन् । यद्यपि कानूनको परिपालनामा कैफियत जनाउँदै केन्द्रीय बैंकले यस बैंकलाई पनि कारवाही गरेको देखियो ।
तेस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकको सबैभन्दा धेरै शाखा, सबैभन्दा धेरै कर्मचारी छन् भने गत वर्ष सरकारलाई बुझाएको कर र सेयरमा चौथो स्थानमा छ । निक्षेप र कुल सम्पत्तिका आधारमा पाँचौ स्थानमा रहेको यो बैंक गत आर्थिक वर्षको लाभांशबाट ३०.५२ प्रतिशत लाभांश दिएपनि अघिल्ला दुई आर्थिक वर्षमा यस बैंकका सेयरधनीले लाभांश नपाएको देखियो । वाणिज्य बैंकहरुको तीन वर्षको औषत लाभांशमा एनआईसी एशिया बैंक १२औं स्थानमा देखिन्छ । कर्जा निक्षेप अनुपात, पुँजी प्रायाप्तता अनुपात एवं सन्तुलित व्यवसाय विस्तार, वार्षिक साधारणसभाको नियमिततामा यो बैंकले सुधार गर्नुपर्ने देखिन्छ ।
चौथो स्थान रहन सफल राष्ट्रिय वाणिज्य बैंकको अन्तर ब्याजदर सबैभन्दा कम ३.८२ प्रतिशत छ । ७.४२ प्रतिशत बेस रेट हुनु, पुँजीकोष अनुपात, कर्जा निक्षेप अनुपातमा सन्तुलन हुनु, सेयरधनीलाई तीन वर्षमा ५१ प्रतिशत लाभांश खुवाउन यस बैंकको राम्रा पक्ष हुन् । ठूलो बैंक भएर पनि सरकारलाई बुझाएको कर र संस्थागत सामाजिक उत्तरदायित्वमा गरिएको न्यून खर्च यो बैंकको कमजोर पक्ष हो । १९ वटा वाणिज्य बैंक नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भई सेयर कारोबार गर्दै गर्दा राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचिकृत छैन । यो बैंक सरकारको सोलो बैंकको रूपमा चलेको छ । राष्ट्रिय वाणिज्य बैंकको मूल्याङकन गर्दा प्रतिसेयर आम्दानी (इपीएस)लाई आधार मानेर अंकभार जोड गरिएको छ ।