Trending
दिलकुमारी केसी स्मृति प्रतिष्ठानले काभ्रेको बनेपामा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि पोसाक वितरण गरेको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका समाजसेवी नवराज के.सी.को सक्रियतामा संकलित सहयोगबाट प्रतिष्ठानले पोसाक बितरण गरेको हो । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी प्रतिष्ठानले यस अघि पनि विभिन्न काम गर्दै आएको दिलकुमारी केसी स्मृति प्रतिष्ठानकी अध्यक्ष उषा कार्कीले बताइन् ।
आगामी दिनमा पनि संस्थाले सामाजिक काम गरी रहने अध्यक्ष कार्कीको भनाई थियो । प्रतिष्ठानले आर्थिक रुपले बिपन्न, पिछडिएको समुदाय तथा सिकाइमा समस्या भएका बालबालिकाहरुलाई लक्षित गरी काठमाडौं आसपासका जिल्लाका सामुदायीक विद्यालयमा पढ्ने बालबालिकाहरुलाई सहयोग गर्दै आएको प्रतिष्ठानका कोषाध्यक्ष समेत रहेका लोकतान्त्रिक इन्जिनियर्स एसोसियसनका अध्यक्ष लक्ष्मण के.सी.ले जानकारी दिए ।
बनेपा नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शान्तिरत्न शाक्यले आफ्नो नगरभित्रका बालबालिकाहरुलाई सहयोग पुग्ने गरी कार्यक्रम गरेकोमा संस्था प्रति धन्यवाद प्रदान गरे । विशेष अतिथि धुलिखेल नगर प्रमुख अशोक व्यांजूले संस्थाले गर्दै आएको कार्यक्रमका बारेमा यस अघि पनि आफूले चासोका साथ हेरेको भन्दै कार्यक्रमको प्रशंसा गरे । कार्यक्रमका सभापति समेत रहेका बनेपा वडा नम्बर–६ का वडा अध्यक्ष सचितानन्द के.सी.ले आफ्नो वडामा रहेको सामुदायिक विद्यालयको विकासमा आफू सधै लागिपरेको बताउँदै संस्थाले विद्यालयका विद्यार्थीहरुलाई उपलब्ध गराएको सहयोग प्रति धन्यवाद दिए । उन्ले आर्थिक रुपले बिपन्न परिवारका बालबालिकाहरुको पढाइलाई निरन्तरता दिन यसले सहयोग पुग्ने बताए ।
विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित विद्यार्थीहरुका लागि प्रतिष्ठानकी अध्यक्ष उषा कार्की तथा बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले विद्यार्थीहरुका लागि ज्याकेट प्रदान गरेका थिए । सामाजिक काममा सकृय रहदै आएको संस्थाले यस अघि पनि धादिङको एक बिद्यालयललाई कम्प्यूटर, ल्यापटपलगायतका शैक्षिक सामाग्री बितरण गरेको थियो भने अन्य सामाजिक कामसमेत गर्दे आएको छ ।