तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट चढ्न सर्वसाधारणको आकर्षण बढेको छ । जिल्लामै पहिलो पटक सञ्चालन भएको मोटरबोटले सर्वसाधारणको ध्यान खिचेको हो । पृथ्वी राजमार्ग भएर यात्रा गर्ने सवारीसाधन रोकेरै मोटरबोटमा शयर गरी गन्तव्यतर्फ जाने गरेका छन् ।

यसका अतिरिक्त आँबुखैरेनी आसपासबाट पनि सर्वसाधारण यहाँ आउने गरेका छन् । परिवारसहित मोटरबोट शयर गर्न पुगेका जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले गर्मी मौसममा निकै आनन्दित महसुस भएको बताए । उनले भने, ‘सञ्चालनको छोटो अवधिमै यसले सर्वसाधारणको ध्यान खिचेको छ । पर्यटन प्रवर्द्धनका लागि यो कोसेढुङ्गा सावित त हुने नै छ । साथै आँबुखैरेनी गाउँपालिकालाई आम्दानीका हिसाबले टेवा मिल्नेछ ।’

तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु निवासी भीमलाल श्रेष्ठले गर्मी मौसममा मोटरबोट शयर गर्दा शीतलताको अनुभव गर्न सकिने बताए । उनले भने, ‘कामका सिलसिलामा राजमार्गमा यात्रा गर्दा मोटरबोट शयर गरेर आयाँै, नदीमा मोटरबोट चढेर दौडिँदा आनन्द आयो ।’ आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो । मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो ।

मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरी गाउँपालिकाले उक्त कम्पनीसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको हो । जलाशय नजिक प्रसिद्ध धार्मिकस्थल अल्कादेवी पनि रहेकाले धार्मिक पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने गाउँपालिका अध्यक्ष शुक्र चुमानको भनाइ छ । साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने उनले बताए ।

जलाशयमा तत्कालका लागि एक करोडको लगानी गरिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले जानकारी दिए । मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सकिने उनको भनाइ छ । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिएको छ ।

कम्पनीले थप रु तीन करोड लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहितको संरचना बनाउने योजना बनाएको छ । यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको ढकालले जानकारी दिए ।

मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक–फरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा शयर गर्न रु दुई सय ५० प्रतिव्यक्ति, १० देखि १२ मिनेटसम्मको लागि प्रतिव्यक्ति रु पाँच सय र १५ देखि २० मिनेटसम्म शयर गर्नका लागि प्रतिव्यक्ति रु एक हजार शुल्क लाग्ने जनाएको छ ।

शनिबार, १५ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा