कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ । स्थानीय नवीन हमालले चुली कर्णाली एग्रो फार्ममार्फत् तीन वर्षदेखि सञ्चालन गरेको स्याउ बगैँचा जिल्लाकै नमूना स्याउ बगैँचा हो ।

शिक्षकसमेत रहेका हमालले फोइमहादेवको दहचौरमा रहेको महादेव माध्यमिक विद्यालयको आठ हेक्टर जमिन लिजमा लिएर सञ्चालन गरेको नमूना स्याउ बगैँचामा फुजी, गाला र गोल्डेन जातका गरी ११ हजार स्याउका विरूवा रोपिएका छन् ।

हमालले चुली कर्णाली एग्रो फार्म दर्ता गरेर नमूना स्याउ बगैँचा निर्माण गरेका हुन् । फोइमहादेव गाउँमा फुजी स्याउ उत्पादनको सम्भावना रहेको र स्याउबाट मनग्य आम्दानी लिन सकिने भएकाले आफूले शिक्षण पेशाबाट कमाएको पैसासमेत खर्च गरेर स्याउ बगैँचा निर्माण गरेको हमालले बताए ।

‘गाउँमै फुजी जातको स्याउको नमूना बगैँचा बनाएर उत्पादन सुरु गर्न थालेको छु’, उनले भने, ‘अहिले मैले लगाएको फुजी जातको स्याउले राम्रो उत्पादन दिन थालेपछि गाउँका अरुले समेत स्याउ रोप्न थाल्नुभएको छ ।’

वार्षिक रु दुई लाख ५० हजार महादेव माध्यमिक विद्यालयलाई भाडा तिरेर लिजमा लिएको जग्गामा अहिले थरिथरिका स्याउ फुलेको देख्दा आफूलाई खुसी लाग्ने गरेको हमालले बताए । ‘बगैँचामा हालसम्म रु दुई करोड लगानी गरिसकेको छु’, उनले भने, ‘यस वर्षमात्र मैले पाँच हजार स्याउका बिरुवाबाट फल उत्पादन गर्ने लक्ष्य राखेको छु ।’

बगैँचा व्यवस्थापनका लागि स्याउ जोन जुम्ला कार्यालयबाट ५० प्रतिशत अनुदानमा रु ४२ लाखमात्र सहयोग पाएको हमालले बताए । ‘स्याउ उत्पादनमा कालीकोटलाई चिनाउनु छ । बाँकी लगानी अनुसारको उत्पादनका लागि बगैँचा गोडमेलमा छौँ’, उनले भने, ‘यो स्याउ बगैँचामा दुई जनालाई निरन्तर रोजगारी दिएको छु ।’

तिलागुफाको फोइमहादेव गाउँमा धेरै किसानले स्याउ बगैँचा विस्तारका लागि कार्यालयबाट अनुदान लिएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ ।

चुली कर्णाली एग्रो फार्मले सञ्चालन गरेको फोइमहादेवको दहचौर स्याउ बगैँचा जिल्लाकै नमूना बगैँचा रहेको जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले बताए ।

‘यो बगैँचालाई आवश्यक थोपा सिँचाइ, स्याउमा लाग्ने रोग नियन्त्रणका लागि विषादिदेखि अन्य अनुदान सहयोग गरेका छौँ’, उनले भने, ‘नमूना स्याउ बगैँचा निर्माण गरेर कालीकोटमा स्याउखेतीको सम्भावना राम्रो छ, भन्ने सन्देश दिएको छ ।’

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, पचालझरना गाउँपालिका र रास्कोट नगरपालिकाका एक हजार तीन सय हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ ।

बिहिबार, १३ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे