यहाँका स्थानीय तहले पुरातात्विक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो देखाउन थालेका छन्।

संरक्षण र मर्मतसम्भारको अभावमा वर्षौँदेखि अलपत्र ऐतिहासिक तथा पुरातात्विक सम्पदाको मर्मत, पुनःनिर्माण, संरक्षण तथा प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय तह सक्रिय भएका हुन्।

तत्कालीन पर्वत राज्यको मुकाम रहेको म्याग्दीको बेनीबजार, पुलाचौर, ढोलठान, डढेकोट ताकम र ज्यामरुककोटका ऐतिहासिक देवल र पुरातात्विक सम्पदा पुनःनिर्माण भइसकेका छन् भने कतिपय सम्पदा पुनःनिर्माण तथा मर्मत भइरहेका छन्।

संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका यहाँका मल्लकालीन समयका ऐतिहासिक सम्पदा र पुरातात्विक तथा शिखरशैलीका देवल, मठ मन्दिर, कुवा, धारा, ओखल आदि सम्पदाप्रति स्थानीय तहका जनप्रतिनिधि र समुदायले चासो देखाउन थालेपछि प्रदेश र संघीय सरकारले समेत आवश्यक बजेट विनियोजन गर्न थालेको यहाँका जनप्रतिनिधिहरु बताउँछन्।

कतिपय स्थानीय तहमा रहेका ऐतिहासिक, प्राकृतिक, धार्मिक र पुरातात्विक सम्पदा स्थानीय तहबाट नै बजेट विनियोजन गरी सुधार, मर्मत तथा पुनःनिर्माण समेत गरिएको छ।

बेनी नगरपालिका वडा नं ७ र वडा नं ६ मा रहेका ऐतिहासिक तथा प्राकृतिक महत्वका चौतारी, मठ, झोलुंगे पुल, पोखरी, पाटी पौवा आदि नगरपालिकाको बजेटबाट नै पुननिर्माण भएका हुन्।

त्यसैगरी धवलागिरि गाउँपालिका वडा नं ७ को ताकम कोतको पुनःनिर्माणपछि जिल्लाकै आकर्षक पर्यटकीय स्थल बनेको स्थानीय गोपाल आचार्यले बताए।

त्यस्तै तत्कालीन पर्वत राज्य अन्तर्गतको प्रमुख सामरिक स्थल ज्यामरुकोटस्थित खड्गभवानी कोतलाई गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र समुदायले पर्यटकीय स्थल बनाउनका लागि लगानी गरिरहेका छन्। यहाँ पूर्वाधारहरु निर्माण हुन थालेपछि सामरिक र ऐतिहासिक स्थल ज्यामरुककोटको अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकहरु आउन थालेका हुन्।

विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ।

करिब छ सय वर्ष पुरानो इतिहास रहेको म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटमा पर्ने तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र खड्गभवानी कोतमा पछिल्लो समय समुदाय र गण्डकी प्रदेश सरकारको पहलमा धमाधम पूर्वाधारहरु निर्माण भए पछि यहाँ पर्यटकहरु आउन थालेका छन्। विकासको उज्यालोले यो ऐतिहासिक स्थल उज्यालिदै गएको स्थानीयले बताएका छन्।

अहिले यो पुरानो सम्पदाको मौलिक स्वरुप नबिग्रने गरी पुनःनिर्माण गरिने भएको छ। सामरिक स्थलको मौलिकस्वरुप नबिग्रने गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ।

नगरपालिकाले ऐतिहासिक कोतको मौलिकस्वरुप यथावत रहनेगरी पुनःनिर्माण गर्नका लागि डिपिआर तयार गरेको बेनी-२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए। ‘पुनःनिर्माणका लागि नगरपालिकाले डिपिआर तयार गरेको छ। पालिकाको बजेटले मात्र पुनःनिर्माण सम्भव नहुने भएकाले प्रदेश र संघीय सरकारसँग पनि अनुरोध गर्ने भएका छौँ’, वडाध्यक्ष कार्कीले भने, ‘ऐतिहासिक कोतको गर्भगृह र अन्य पुरातात्विक सम्पदा यथावत रहनेगरी पुनःनिर्माण गर्नेछौँ।’

खड्गभवानी कोत पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यस्थल बन्दै गएको छ। ज्यामरुककोटको छिमिकी बागलुङको पञ्चकोटमा धार्मिक पर्यटक वृद्धि भएसँगै ऐतिहासिक ज्यामरुककोटमा समेत सकारात्मक प्रभाव परेको वडाध्यक्ष कार्कीले बताए। उनका अनुसार पछिल्लो समय खड्गभवानी कोत परिसरमा विभिन्न पूर्वाधार निर्माण भएका छन्।

समुद्री सतहदेखि एक हजार छ सय ४८ मिटर उचाइमा रहेको इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदा पर्यटक र विकाससँग जोडिएको कार्कीको भनाइ छ।

म्याग्दीका विभिन्न ठाउँहरुमा ढुंगैढुंगाले बनेका शिखर शैलीका थुम्का, देवल र मठहरु छन्। त्यसैगरी पर्वते मल्लराजा डिम्बबम मल्लले निर्माण गर्न लगाएका ओखल र कुवाहरु पनि यहाँ रहेका र ती सम्पदाहरुको संरक्षणमा पनि स्थानीय तहहरुले चासो दिनुपर्ने स्थानीय वासिन्दाहरुको भनाइरहेको छ।

विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीमा रहेको म्याग्दीका इतिहासकार तथा २०७७ सालको मदनपुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले उल्लेख गरेका छन्।

चौधौंँ शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्बबम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले समेत नेपालभर प्रसिद्ध छ। यो मन्दिर ढोठानदेखि केही माथि र डढेकोट दरवारदेखि केही तल केभहिलको नजिक छ।

ढोलठान क्षेत्रको शिरमा रहेको केबहिलबाट मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो। यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बागलुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दीका साबिकका ३६ गाविस प्रत्यक्ष देख्न सकिन्छ।

बेनी बजारदेखि करिब डेढ/दुई घण्टाको पैदल यात्रापछि पुग्न सकिने ढोलठान प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले युक्त त छ नै धार्मिक दृष्टिकोणले समेत प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बानियाँले जानकारी दिए।

बानियाँले भने, ‘ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व र प्रशस्तै सम्भावनाहरुले युक्त, सदरमुकाम बेनीदेखि नजिकै रहेको भए पनि बल्ल यस ठाउँको स्वरुप फेरिन थालेको छ। ढोलठान क्षेत्र म्याग्दीको मात्र होइन गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य स्थल बन्न सक्छ।’ ढोलठानबाट पूर्वोत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि र धौलागिरि हिमाल देख्न सकिन्छ। रासस

बुधबार, १२ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा