Trending
नेपाल घुम्न आउने पर्यटकमध्ये जंगल तथा जंगली जनावर हेर्नेको संख्या उच्च दरले बढेको छ ।
सरकारले तयार पारेको सन् २०२३ को पर्यटन प्रतिवेदनअनुसार एक वर्षमा ३ लाखभन्दा बढी पर्यटकले विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष भ्रमण गरेका छन् ।
२०२३ मा ३ लाख ८ सय ७५ पर्यटकले विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष भ्रमण गरेका थिए। यो अघिल्लो वर्ष २०२२ को दाँजोमा २ लाख २५ हजार २ सय ६७ ले बढी हो । २०२२ मा ७५ हजार ६ सय ८ पर्यटक ती स्थान पुगेका थिए ।
नेपालको पर्यटन उद्योगमा निकुञ्ज तथा वन्यजन्तु आरक्षको विशेष महत्त्व छ । पर्यटकहरू नेपालमा बाघ, गैंडा, हात्ती, गोहीलगायत जंगली जनावर, चराचुरुङ्गी हेर्न आउने गर्छन् ।
यसैगरी धार्मिक पर्यटकको रोजाइमा पशुपति मन्दिर क्षेत्र पर्ने गरेको छ । २०२३ मा १ लाख १८ हजार ५ सय ३१ जनाले पशुपति मन्दिर क्षेत्र भ्रमण गरेका छन् । पशुपति घुम्न आउनेमा धेरै भारतीय पर्यटक पर्छन् ।
यो संख्या अघिल्लो वर्षको तुलनामा ६३ हजार ३ सय २७ ले बढी हो । २०२२ मा ५५ हजार २ सय ४ जनाले उक्त क्षेत्र भ्रमण गरेका थिए ।
यस्तै, गौतम बुद्धको जन्मथलो लुम्बिनी घुम्ने जाने पर्यटकको संख्या पनि बढ्दै गएको छ ।
सरकारले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०२३ मा भारतीयसहित अन्य देशका ८५ हजार २ सय २३ जनाले लुम्बिनी भ्रमण गरेका छन् ।
२०२२ मा २३ हजार ९ सय ४२ जनाले उक्त स्थान भ्रमण गरेका थिए । २०२२ को तुलनामा २०२३ मा लुम्बिनी भ्रमण गर्ने पर्यटक संख्या ६१ हजार २ सय ८१ ले बढी हो ।
यसैगरी मनास्लु ट्रेकिङ जाने पर्यटक संख्या भने २०२२ को तुलनामा २०२३ मा घटेको तथ्यांकले देखाएको छ ।
२०२२ मा ५ हजार ८ सय ९० जना मनास्लु ट्रेकिङ पुगेका छन् भने २०२३ मा ३ हजार ९४ मात्रै पुगेका छन् । अघिल्लो वर्षको तुलनामा यो संख्या २ हजार ७ सय ७६ ले कम हो ।
त्यस्तै २०२२ मा मुस्ताङ ट्रेकिङ जाने पर्यटक संख्या ३ हजार ३ सय ८७ थियो भने २०२३ मा १ हजार १ सय ९८ पर्यटक उक्त स्थान पुगेका छन् ।
यो तथ्यांकले २०२२ मा भन्दा २०२३ मा मुस्ताङ ट्रेकिङ जाने पर्यटक संख्या २ हजार १ सय ८९ ले घटेको देखाउँछ ।
यस्तैगरी हुम्ला ट्रेकिङमा २०२३ मा १ सय जना पर्यटक मात्रै गएका छन् । २०२२ मा उक्त स्थान ट्रेकिङमा १ हजार ४ सय ४२ जना पुगेका थिए ।
यो तथ्यांकले पनि अघिल्लो वर्षको तुलनामा हुम्ला ट्रेकिङ जाने पर्यटक संख्या घटेको देखाएको छ ।
२०२२ मा तल्लो डोल्पा ट्रेकिङ जाने पर्यटक संख्या ७ सय ८६ थियो भने २०२३ मा ३ सय ६५ जना मात्रै पुगेका छन् ।
यस्तै कञ्चनजंघा ट्रेकिङमा सन् २०२३ मा ४ सय ५ जना पुगेका छन् । यो संख्या २०२२ को तुलनामा ४ सय ५३ ले कम हो । २०२२ मा ८ सय ५८ जना पर्यटक कञ्चनजंघा ट्रेकिङ गएका थिए ।
यसैगरी सरकारको प्रतिवेदनले २०२२ मा माथिल्लो डोल्पा ट्रेकिङ जाने पर्यटक संख्या ४ सय ९२ देखाएको छ ।
२०२३ मा जम्मा १ सय ४५ पर्यटक माथिल्लो डोल्पा ट्रेकिङ गएका छन् । २०२२ को तुलनामा २०२३ मा माथिल्लो डोल्पा ट्रेकिङ पुग्ने पर्यटक संख्या ३ सय ४७ ले कम हो ।
त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०२२ मा १२ हजार १ सय ५८ तथा २०२३ मा १५ हजार ७ सय ३० आगमन भएको थियो । त्यस्तै २०२२ मा १२ हजार १ सय ५४ र २०२३ मा १५ हजार ७ सय ३० प्रस्थान भएको थियो ।