म्याग्दीका जंगलमा विगत तीन वर्षयता अत्यधिक डढेलो लागेका कारण पुष्परसमा कमी हुँदा मौरीपालक कृषक बढ्दै गए पनि मह उत्पादन भने घट्दै गएको छ।

म्याग्दीका ग्रामीण क्षेत्रमा चिउरी, पैँयु, दुधिलो प्रजातिका रुख नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै गएपछि मौरीलाई चरन क्षेत्रको अभाव र पुष्परसको कमी भएका कारण मह उत्पादन घट्दै गएको कृषकले बताएका छन्।

जिल्लाको मालिका गाउँपालिका-१ निस्कोटका किसान तिलबहादुर पुनले विगतका वर्षको तुलनामा तीन वर्षयता मह उत्पादन घटेको बताए। ‘गाउँमा मौरीपालन गर्ने कृषकको सङ्ख्या बढे पनि मह उत्पादन भने घटेको छ’, पुनले भने।

अत्यधिकरूपमा डढेलो लाग्नु, बाढी, पहिरो, भू-क्षयले क्षति पुर्‍याउनाका साथै कुकाठका नाममा सामुदायिक वनले चिउरी, पैँयु र दुधिलाका बोट काट्नेक्रम बढेपछि पुष्परसको अभावले गर्दा मह उत्पादनमा कमी आएको उनको भनाइ रहेको छ।

जिल्लाका बेनी नगरपालिकालगायत मंगला, धवलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका बिम, मराङ, ताकम, ज्यामरुककोट, रत्नेचौर, सिम, राखु, पात्लेखेत, अर्मन, बाबियाचौरका गाउँमा व्यावसायिकरूपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र मह उत्पादन कमी भएको बताएका हुन्।

त्यसैगरी मंगला गाउँपालिका-५ का मौरीपालक कृषक टीका सापकोटाले तोरी, बुकी, पैँयु, दुधिलोलगायत फूल तथा वनस्पतिमा यस वर्ष रसको मात्रा घटेको बताए। सापकोटाले जंगलमा भएको आगलागी, वातावरणीय प्रदूषण र फूल फुल्ने समयमा पैयुँ, दुधिलो र चिउरीलगायत बोट ढालिएकाले विगतको तुलनामा आधामात्र मह उत्पादन भएको जानकारी दिए।

‘मौरी चरेर आइसकेपछि पनि पोटिला नदेखिनु र मह उत्पादनका लागि उपयुक्त मानिएको महिनामा पनि कम मह उत्पादन हुनुको कारण पुष्परसमा कमी आउनु नै हो’, सापकोटाले भने।

विगत तीन वर्षयता म्याग्दीका जंगलमा डढेलो लाग्नेक्रम बढेसँगै मह उत्पादनमा पनि कमी हुँदै गएको किसानको अनुभव रहेको छ। मंगला गाउँपालिकाका कृषि प्राविधक जगत् बानियाँले जंगलमा अत्यधिकरुपमा डढेलो लाग्नु र त्यसपछि सुक्खा हावा चलेका कारणले पनि पुष्परसमा स्वाभाविकरुपले कमी आएकाले यस्तो समस्या उत्पन्न भएको बताए।

मौरीको गोलाको सङ्ख्या अत्यधिक बढिरहेको छ। कृषकले भने चरन क्षेत्रमा ध्यान नदिएको र बढ्दो रासायनिक मलको प्रयोगका कारण परागसेचन प्रक्रियामा प्रभाव परेकाले फलफूलजन्य वनस्पतिमा रसको मात्रा कमी आउँदा मह उत्पादन कम भएको कृषि प्राविधिक बानियाँले बताए।

कृषि ज्ञान केन्द्रले मौरीपालक कृषकले मौरीको गोलासँगै चरन क्षेत्रको विस्तारमा ध्यान दिन कृषकलाई सल्लाह दिँदै घार वरिपरि बाँझो जग्गा नराख्न र विशेष गरी पुष्पजन्य बोटबिरुवा लगाउन अनुरोध गरेको छ।

जिल्लामा मौरीपालक कृषकको सङ्ख्या बढ्दै गइरहेको छ। जिल्लाका छ स्थानीय तहका दुई सयभन्दा बढी कृषक व्यावसायिक मौरीपालनमा लागेका स्थानीय तहका कृषि शाखाले जनाएका छन्।

मह उत्पादन वृद्धिका लागि तोरीखेतीको क्षेत्रफल वृद्धि, पैयुँ, दुधिलो, चिउरीजस्ता रसदार वनस्पति र बोटबिरुवाको संरक्षण तथा वनमा डढेलो नियन्त्रण गरिनुपर्ने कृषि प्राविधिकहरु बताउँछन्। रासस

आइतवार, ९ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे