हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा आज (शुक्रबार) सार्वजनिक गरिएको छ। नतिजाअनुसार डोल्पाको संरक्षित क्षेत्रबाहिर पनि हिउँ चितुवाको उल्लेखनीय संख्या रहेको देखिएको छ।

२०८० को वैशाखदेखि भदौसम्म क्यामेरा ट्यापिङ विधिबाट सर्वेक्षण गरिएको थियो। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाहिरको पूर्वी डोल्पा क्षेत्रमा रहेका हिउँ चितुवाको संख्या यकिन गरेको हो।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहयोगमा गरिएको यस सर्वेक्षणले प्रतिएक सय वर्ग किलोमिटरको क्षेत्रमा हिउँ चितुवाको घनत्व १.५ रहेको अनुमान गरेको छ। यससँगै अध्ययन क्षेत्रभित्र ३० वटा हिउँ चितुवा रहेको सर्वेक्षणले देखाएको छ।

यसै गरी चार वर्षअघि निकुञ्जभित्र गरिएको यस किसिमको सर्वेक्षणले प्रति एक सय वर्ग किलोमिटरमा चितुवाको घनत्व २.२ रहेको अनुमान गरेको थियो। यस आधारबाट ९० वटा हिउँ चितुवा यो संरक्षित क्षेत्रभित्र रहेको यकिन भएको थियो।

यसर्थ डोल्पामा हिउँ चितुवाको कुल स‌ंख्या एक सय २० हुन गएको छ। जुन संख्या नेपालकै सबैभन्दा उच्च हो र घनत्व पनि सबैभन्दा बढी हुन आउँछ। हिउँ चितुवा उच्च पहाडी पर्यावरणमा पाइने दुर्लभ, लोपोन्मुख र संरक्षित वन्यजन्तु हो।

यो प्रजाति आफ्नो बासस्थान वातावरणमा शीर्ष सिकारी भएकाले पर्यावरणको स्वास्थ्य र सन्तुलन कायम राख्न हिउँ चितुवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ। ठूलो र दुर्गम भौगोलिक क्षेत्रको बासस्थानमा बस्ने भएकाले ठूला बिरालाहरूमध्ये विश्वव्यापी रूपमा सबैभन्दा कम अध्ययन गरिएका प्रजातिहरूमा यो प्रजाति पनि पर्छ।

नेपालमा हिउँ चितुवाको बासस्थान (३० हजार वर्ग किलोमिटर) मध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा बाहिर पर्छ। यी क्षेत्रहरू बासस्थान र कोरिडोर दुवैका रूपमा निकै महत्वपूर्ण छन्।

पूर्वी डोल्पा नेपालको तीन संरक्षित क्षेत्र (शे–फोक्सुण्डो, ढोरपाटन सिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्र) र हिउँ चितुवाको दुई भूपरिधि क्षेत्र (पश्चिम र मध्य) मा रहेका हिउँ चितुवाको संख्यालाई जोडेको छ। यस महत्त्वलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यो महत्त्वपूर्ण प्रजातिको अध्ययन तथा अनुसन्धानलाई उच्च प्राथमिकता दिई विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

हिँउ चितुवा विश्वमा नै एसियाका १२ राष्ट्रमा मात्र सीमित रहेको र जम्मा चार हजारदेखि ६ हजार ५ सयको संख्यामा रहेको अनुमान गरिएको छ। हिउँ चितुवाका लागि नेपाल चौथो राष्ट्रमा पर्दछ र जहाँ तीन सयदेखि चार सय संख्यामा हिउँ चितुवा पाइने विश्वास गरिएको छ। यस हिसाबले हिउँ चितुवा अवलोकनका लागि विश्वमा नेपाल र नेपालमा डोल्पा एक प्रमुख गन्तव्य स्थापित छ।

डिभिजन वन कार्यालय डोल्पाको कार्यक्षेत्रभित्र गरिएको यस सर्वेक्षणले छार्का ताङसोङ, काइके र डोल्पो बुद्ध गाउँपालिकाका राष्ट्रिय निकुञ्जबाहिर रहेका क्षेत्रमात्र समेटेको थियो। हिमाली भूभागमा पर्ने करिब दुई हजार वर्गकिलोमिटर क्षेत्रफलमा ६० दिनसम्म यो अध्ययन गरिएको थियो।

यो अध्ययनमा ३३ जना नागरिक वैज्ञानिक, डिभिजन वन कार्यालय डोल्पाका सात जना कर्मचारी, तीनजना विद्यार्थी र दुईजना डब्लुडब्लुएफ नेपालका वन्यजन्तु अनुसन्धानकर्ताहरू सामेल थिए। वन तथा भू–संरक्षण विभाग र डिभिजन वन कार्यालय डोल्पाको नेतृत्व अनि डब्लुडब्लुएफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पादित यस सर्वेक्षणका लागि ६६ ठाउँमा ‘क्यामेरा ट्र्याप’हरू जडान गरिएका थिए।

यो सर्वेक्षणले पहिलोपटक संरक्षित क्षेत्रबाहिर बाक्लो संख्यामा हिउँ चितुवा रहेको बलियो प्रमाण मात्र देखाएको छैन, नेपालमा हिउँ चितुवाको संख्या बुझ्न पनि सघाएको छ। यस सर्वेक्षणले संरक्षित क्षेत्रबाहिर पनि प्रभावकारी संरक्षणका प्रयासहरूको आवश्यकता रहेको पुष्टि पनि गरेको वन तथा भू–संरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले बताए।

डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले विश्वव्यापी रूपमा हिउँ चितुवाको अनुसन्धान र संरक्षण गर्नमा विभिन्न प्रयास भइराखेको उल्लेख गर्दै नेपाल सरकारलाई सहयोग गर्न र हिउँ चितुवाको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायसँग साझेदारी गर्न पाउँदा थप जिम्मेवार हुन प्रेरित गरेको बताए।

शनिबार, ८ बैशाख, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा