Trending
प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो भएको बताएकाछन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु भएको अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको भौगोलिक बनौटका आधारमा सुरूङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।
राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा उन्को जोड थियो । उनले सुनकोशी मरिन डाइभर्सन सिँचाइ आयोजनाको सुरूङ छिटै ब्रेक थु्र हुने उल्लेख गरे । निर्माणाधीन कोशी, कर्णाली करिडोरहरूले पहाडी क्षेत्रलाई तथा काठमाडौँ तराइ–मधेश फास्ट ट्रयाकले पहाड मधेशलाई सडक सञ्जालमा जोड्ने मात्र नभएर वस्तु तथा सेवाको लागत घटाउने प्रधानमन्त्रीको भनाई थियो । यी परियोजनाहरूले नेपालको आर्थिक क्षेत्रमा गुणात्मक योगदान गर्ने उन्को बिश्वास छ ।
नेपालले पूर्वाधार विकाससँगै औद्योगिक विकासको क्षेत्रमा सँगसँगै अगाडि बढाउनुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै उन्ले वस्तुको आपूर्ति तथा वितरणमा हुने लागत, इन्धन, समय आदिको लाग्ने खर्च घटाउँदै प्रतिस्पर्धी क्षमता बढाउनुपर्नेमा जोड दिए ।
काठमाडौँबाट नारायणगढ, भैरहवा, वीरगञ्ज, पोखरा विराटनगरलगायतका ठाउँसम्म कम समय र थोरै लागतमा ढुवानी हुनसक्ने द्रूतमार्गहरू बनाउनु पर्ने उन्को भनाई थियो । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट निजी क्षेत्रलाई उत्साहित बनाउने र नेपालमा ठूला पूर्वाधार विकासमा लगानी आकर्षित गरिने बताए ।
विश्वव्यापीकरणको उच्चतम लाभ लिँदै नेपालले आधुनिक पूर्वाधार विकासका लागि चाहिने आवश्यक पुँजी र प्रविधिलाई विशेष जोड दिनुपर्ने बताउँदै उनले त्यस कार्यका लागि नीतिगत सुधार र विश्व बजारसँग वित्तीय उपकरणलाई जोड्न पहल गर्नुपर्ने पनि बताए ।