Trending
निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन् । यहाँ आउने पर्यटकले आकलझुकल मात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुशी आदानप्रदान गर्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा दुई लाख हाराहारी पर्यटक घुम्ने गर्दछन् । तीमध्ये निकै न्यून पर्यटकले मात्र बाघ देख्ने अवसर पाउँछन् । निकुञ्ज र मध्यवर्ती घुम्ने अधिकांश पर्यटकले एक सिङ्गे गैँडा भने हेर्ने अवसर पाउँछन् ।
भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्ष मनाउँदै गर्दा दुई नयाँ गन्तव्यको खोजी गरेको छ । त्योमध्येको एक पाटेबाघ यहाँ आउने पर्यटकलाई देखाउने र अर्को दियालो दरबार प्रवेशको वातावरण बनाउने रहेको थियो । गत सातादेखि दियालो बङ्गला सञ्चालनको जिम्मेवारी महानगरपालिकाले लिएको छ । यससँगै आजदेखि भरतपुरको देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा दुई पाटेबाघ सर्वसाधारणका लागि हेर्ने अवसर महानगरले दिलाएको छ । महानगरपालिका–६ देवनगरस्थित वन्यजन्तु उद्धार केन्द्रको आज उद्घाटन गरी सर्वसाधारणका लागि बाघ हेर्ने व्यवस्था मिलाइएको हो ।
केन्द्रको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले निकुञ्जभित्र खोरमा राखिएका बाघलाई केन्द्रमा ल्याएर सर्वसाधारणका लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको बताइन् । विभिन्न ठाउँमा मानिसलाई आक्रमण गरेर नियन्त्रणमा लिइएको बाघ यहाँको खोरमा राखिएको उनले बताइन् । उनले भनिन्, ‘निकुञ्ज र आसपासका क्षेत्रका नरभक्षी बाघलाई निकुञ्जभित्रको सट्टामा बाहिर सर्वसाधारणले हेर्न मिल्ने गरी राखिएको हो ।’
उनका अनुसार आजदेखि यहाँ आउने पर्यटकले बाघ नहेरी फर्कनु पर्दैन । महानगरपालिकाले बाटो, मचान, कम्पाउण्डलगायत निर्माणमा रु एक करोड खर्च गर्ने गरि सो गन्तव्यको विकास गरेको उनले बताइन् । यस क्षेत्रमा गैँडालगायत वन्यजन्तु समेत ल्याएर खुल्ला चिडियाखानाका रुपमा विकास गरिने उनले जानकारी दिइन् । त्यहाँ आउने पर्यटकले तिरेको राजस्वले बाघलगायत वन्यजन्तुको पालनपोषण र रेखदेखमा सहयोग पुग्ने उनको भनाइ थियो ।
उपप्रमुख चित्रसेन अधिकारीले नयाँ गन्तव्य थप गरेर भ्रमण वर्ष सफल बनाउन लागिएको बताए । उनले भने, ‘बाघ हेर्न यहाँ आउने पर्यटक बढ्ने छन् ।’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना र बरण्डाभार उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटाले अब सर्वसाधारणका लागि बाघ हेर्ने अवसर मिल्ने बताए ।