Trending
बागलुङको निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ ।
बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ । ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा तीन करोड ५० लाख विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरिरहेको छ । आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसबाटै आत्मनिर्भर बनाउनेतर्फ कृषि ज्ञान केन्द्र सक्रिय बनेको छ ।
पछिल्लो समय बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । आलु खेती गर्दा बाँझो जमिन प्रयोगमा आउने हुँदा आलु खेतीको क्षेत्र विस्तार थालिएको हो ।
निर्वाहमुखी खेती गर्दै आएकोमा अब व्यावसायिक रुपमा गरिने भएको हो । कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई उन्नत जातका आलुको बिउ उपलब्ध गराउन थालिएको छ । खायन (खानका लागि) र बिउका लागि गरी दुई थरि आलु कृषि ज्ञान केन्द्रले किसानलाई वितरण गरिरहेको छ ।
बागलुङलाई आलुमा आत्मनिर्भर बनाई किसानलाई आयआर्जनसँग जोड्न यस वर्ष आलु खेतीको क्षेत्र विस्तार गरिएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार मगरले जानकारी दिए ।
उनका अनुसार १५० हेक्टर क्षेत्रफलमा खाएन र बिउ आलु लगाइने छ । बिउका लागि ढोरपाटन र ताराखोलाको आलु तथा खायनका लागि काभ्रेबाट आलु लिएर वितरण गरिएको पुन मगरको भनाइ छ ।
१३९ हेक्टरमा खाएन र १० हेक्टरमा ‘बिउ आलु’ लगाइने उनको भनाइ छ । जिल्ला भरका किसानलाई दुई लाख २२ हजार २०० किलो आलु वितरण गर्ने तयारी रहेको पुन मगरले बताए । हालसम्म ७४ वटा कृषि समुह तथा सहकारीले सम्झौता गरेका छन् ।
उद्यमशील कृषक समूह काठेखोला गाउँपालिका– ३ धम्जा ज्ञानकुमार छन्त्यालले कृषि ज्ञान केन्द्रबाट ३६ क्विन्टल आलुको बिउ लगेको बताए । ७५ प्रतिशत अनुदानमा लगेको आलुको बिउ गाउँका किसान र कृषि समुहमा आबद्ध सदस्यलाई उपलब्ध गराएको बताए ।
हाल बागलुङमा तीन हजार छ सय ५५ हेक्टरमा आलुखेती हुँदै आएको छ । यस वर्ष खेती गर्ने क्षेत्रफल बढ्ने छ । बर्सेनी ५९ हजार ६५० टन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।