Trending
जुम्लाका युवा युवतिहरू रैथाने बालीको परिकार बनाउने सिप सिक्न थालेका छन् । रोजगारी सृजना, रैथाने बालीको उत्पादन वृद्धि र आयआर्जनको लक्ष्य सहित जुम्लाका युवा रैथाने बालीबाट बन्ने विभिन्न परिकार बनाउने सिप सिक्न थालेका हुन् ।
घरमा नियमित खाई रहने अन्नबालीबाट विभिन्न परिकार बनाउन सिके सँगै आफ्नै व्यवसाय सुरु गर्ने ऊर्जा मिलेको तातोपानी गाउँपालिका ३ का प्रकाश सुनारले बताए । जुम्लामा उत्पादन हुने चिनो,कागुनो, मकै, कोदो फापर, आलु लगायतका अन्नबालीबाट थरीथरीका मिठा परिकार बनाउँदै भ्याई नभ्याई छ ।
उनले भने,‘आलुबाटै धेरै थरी खाने कुरा बन्दो रहेछ । कोदो,फापरको पिठोबाट केक, पिजा बन्ने रैछ । अर्ग्यानिक स्वाद आउने पर्यटक र उपभोक्तालाई चखाएमा आम्दानी मनग्य हुने सम्भावना पनि छ । आफ्नै व्यवसाय गरेपनि अथवा कतै होटलमा काम गर्दा सिपले सघाउ पुर्याउने छ ।’
परिकार बनाउने तालिम लिएसँगै होटल व्यवसाय नखोलेपनि घरमा नियमित एउटै खाना खानु भन्दा त्यही पिठो,आलुबाट थरीथरीका परिकार बनाउन सिकेको तिला गाउँपालिका २ की कृष्णकली बुढाले बताए । सिप सिकेर पहिलो आफ्नै होटल खोलेर सिपको प्रयोग गर्ने,पुँजीले नपुगे होटलमा काम गर्दा सहज हुने उनको अपेक्षा छ ।
प्रकाश सुनार र कृष्णकली बुढा मात्र हैन जुम्लामा किर्डाकले सञ्चालन गरेको कुक तालिममा जुम्लाका १० जना युवा–युवतीले रैथाने बालीको परिकार बनाउने सिप सिकिरहेका छन् । बेरोजगार भएर बसेका युवालाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित तालिममा विभिन्न देशबाट कुक तालिम लिएर फर्किएका चित्र बुढाले परिकार बनाउन सिकाई रहेका छन् ।
युवाहरू व्यवसाय थालनी तथा आयआर्जन वृद्धिको लागि रैथाने बालीकै परिकार बनाउने सिप सिक्न थालेको प्रशिक्षक चित्र बहादुर बुढाले बताए । उनले भने,‘एक महिने तालिमको २० औँ दिन पार भई सकेको छ । १०र१० दिनमा परिकार बनाएर अतिथिलाई टेष्ट गराउने गरेका छौ । २० दिनको अवधिमा आलुबाट बन्ने, चिप्स, बिस्कुट, नम्कीन, पिठोबाट बन्ने केक,पिजा लगायतका परिकार बनाउन सिकाइएको छ । युवाहरू निकै इच्छुक छन् । तालिम फलदायी बनेको छ ।’
जुम्लामा थन्किएर रहेको,बजारमा रहेको अन्नबालीको केही परिकार बनाएर बजारमा ल्याउने र आम्दानी वृद्धिसँगै युवालाई रोजगार सँग जोड्न परिकार बनाउने तालिम सञ्चालन गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक दिपराज रावतले बताए । उनका अनुसार वर्ल्ड भिजनको सहयोगमा किर्डाक द्वारा सञ्चालित ९राईच टु० परियोजना मार्फत कुक एक महिने कुक तालिम सञ्चालन गरिएको हो ।
कुकसंगै अटो वर्कसप, मोबाइल मर्मत, पलम्बीङ, हाउस वईरिङ, फर्निचर तथा सिलाई कटाइको न्यूनतम एक महिना देखि ४५ दिन सम्मको तालिम सञ्चालन भइरहेको छ । सबै तालिमबाट करिब ८० जना युवा युवती प्रत्यक्ष लाभान्वित छन् । सिप सिकेका युवालाई व्यवसायसँग जोड्न बैङ्क वित्तीय तथा सहकारी क्षेत्र सँग पनि सहकार्य भइरहेको छ ।