Trending
गत वर्षको तुलनामा यस बर्ष वसन्त ऋतृमा हिमाल आरोहण गर्नेहरुको संख्यामा गिरावट आएको छ । वसन्त ऋतुका लागि आरोहण अनुमति लिन बाँकी रहे पनि आरोहण कम्पनीमा आएका बुकिङहरुको आधारमा आरोहण संख्या घट्ने देखिएको हो ।
हरेक बर्ष वसन्त ऋतृ सुरु भएसँगै नेपालको हिमाली क्षेत्रमा विदेशी पर्यटकहरुको चहलपहल सुरु हुने गर्दछ । विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये आठ वटा नेपालमा छन् । गत वर्ष वसन्त ऋतुमा सगरमाथा चढ्नेको संख्यामा थोरै वृद्धि भएको थियो । यस बर्ष पनि सगरमाथा चढ्नका लागि बुकिङ गर्न आउनेमा केहि गिरावट भएको छ । बुकिङ गर्ने सबैलाई अनुमति लिन्छन् वा पाउँछन् भन्ने हुँदैन् । तर गत वर्षको तुलनामा यस वसन्त ऋतुका लागि बुकिङ कम आएको छ ।
बुकिङको अनुपात हेर्दा अनुमति लिनेको संख्या सगरमाथाबाहेक अरु हिमालमा घट्ने निश्चित छ । अन्नपूर्णमा करिब २६ जना आरोहीले मात्रै बुकिङ गरेका छन् । जबकी गत बर्ष वसन्त ऋतुका लागि करिब ५० जनाले बुकिङ गरेका थिए । त्यस्तै, धौलागिरीमा गत बर्ष ३८ जनाले बुकिङ गरेकोमा अहिले २०–२२ जना मात्र छन् । कञ्चनजङ्घामा गत बर्ष ४० जनाले बुकिङ गरेकोमा अहिले २२ जना छन् ।
मकालुमा थोरै विदेशी आरोहीले बुकिङ गरेका छन् । सरकारले हवाई भाडादेखि होटल तथा पर्यटन व्यवसायमा भ्याट र लक्जरी कर लगाएका कारण हिमाल आरोहणका लागि बुकिङ गर्ने विदेशी पर्यटकहरुको संख्या कम भएको पर्यटन व्यवसायीको भनाई छ । हेलिकप्टरमा लाग्ने मूल्य बढेको छ । पहिला कार्गो हेलिमा लानुपर्यो सामान १० लाख खर्चमा हुन्थ्यो भने अहिले १६ लाख खर्च लाग्छ ।
यसरी भ्याटलगायतका कर जोडिएपछि पर्यटन व्यवसायी र विदेशी पर्यटक दुवैलाई गाह्रो भएको बताइएको छ । यसले गर्दा राज्यलाई रोयल्टी घाटा लागेको छ । पर्यटक आउँदा धेरै खर्च गर्थे र कर तिर्थे । व्यवसायीले आम्दानीका आधारमा आयकरसहित करिव ४० प्रतिशत कर तिर्छ । सबै कुरालाई सरकारको नीतिले असर परेको छ । गत वर्ष सगरमाथा आरोहण गर्ने आरोहीको संख्या र रोयल्टी संकलन हालसम्मकै उच्च रहेको पर्यटन विभागले जनाएको थियो ।
आगामी वसन्त ऋतृबाट चीन तर्फबाट आरोहण खुल्ला गरेकाले पनि असर परेको छ । तर नेपालले चीनतर्फबाट आरोहण गर्नेहरुलाई आकर्षित गर्न असफल भएको छ । नेपालबाट सगरमाथाको आरोहण गर्दा खुम्बु आइफलको डर छ । त्यही खतराको डरले यस पटक हिमालमा गाइड गर्नेहरु पनि नेपालबाट भन्दा चीन तर्फबाट आरोहण गर्न इक्छुक बनेका हुन् ।
चीनतर्फको सगरमाथाको आधार शिविरसम्मै ट्रक र गाडीहरु पुग्ने गरेकाछन । अधिकांश गाइडहरु नेपालबाट भन्दा चीनबाट आरोहण गराउन लागिपर्छन् । नेपालबाट सगरमाथा आरोहण गर्न सहजीकरणका लागि स्याङ्बोचेबाट हेलिकप्टरको प्रयोग गर्न नमिल्ने निर्णय सच्याउनुपर्ने व्यवसायीको माग छ । सगरमाथा आरोहण गर्दा दुर्घटना भइहाले उद्धार गर्न सहज छ । तर चीनमा हेलिकप्टरको प्रयोग गर्न रोक छ ।
चीनमा लजिस्टिक्स सामान लैजान सजिलो भएकोले चीनतर्फ आरोहण गर्ने आरोहीहरुको संख्या बढी देखिएको व्यवसायीको भनाई छ ।