Trending
वर्षौँदेखि परम्परागत रूपमा कृषकले संरक्षण गर्दै आइरहेको कृषि बालीलाई रैथाने बाली भनिन्छ । उच्च खडेरी र चिसो तथा मलजल कम भए पनि यस्ता बालीबाट उत्पादन लिन सकिन्छ । चिनो, कागुनो, फापर, उवा, कोदो स्थानीय जातका धान, गहुँ, मकै, स्थानीयस्तरमै पाइने विभिन्न प्रजातिका फलफूलका रैथाने बाली छन् । तर रैथाने अन्तर्गत पर्ने सबै बालीको खेती गरिने क्षेत्र र उत्पादनको यकिन तथ्याङ्क भने सरकारीस्तरबाट पाउन सकिँदैन । रैथाने बालीको यकिन तथ्याङ्क नभए पनि पछिल्लो समय माग बढ्दै गएको सम्बद्ध अधिकारीहरूको दाबी छ । रैथाने बालीमा महत्त्वपूर्ण आनुवंशिक स्रोतका साथै गुणस्तरीय, स्वास्थ्यवर्द्धक खानाको सुनिश्चितता हुने रैथाने एग्रो प्रोडक्ट्सका अध्यक्ष तिलक ढकालले बताए । जलवायु परिवर्तनबाट बालीमा हुने अनुकूलित प्रभावबाट जोगाउन, खाद्य सुरक्षामा जोड दिन रैथाने बालीको माग बढेको उनको भनाइ छ । ‘खाद्य परनिर्भरता कम गरी व्यापार घाटा कम गर्ने र स्थानीय खाद्य संस्कृतिको संरक्षण गरी आफ्नो पहिचान कायम राख्न यस्ता बालीको संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो रैथाने बाली र संस्कृतिलाई व्यावसायिक तुल्याउन आवश्यक छ ।’ पछिल्लो समय रैथाने बालीप्रतिको जागरण राष्ट्रियस्तरमै भएको छ । आफ्नो ठाउँमा भएको जात नै सर्वेसर्वा हुनु पर्ने र यसलाई नै सुधार्नु पर्ने भन्ने सोच राष्ट्रियस्तरमै अभिवृद्धि भएको राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख डा. बालकृष्ण जोशीले बताए । ‘स्वास्थ्यका लागि राम्रो भएकाले बजारमा रैथाने बालीको माग बढेको छ,’ उनले भने । विभिन्न सरकारी निकायबाट रैथाने बालीलाई प्रवर्द्धन र संरक्षण कार्यक्रम गरिएकाले रैथाने बालीप्रतिको जागरण राष्ट्रियस्तरमा पुगेको जोशीले उल्लेख गरे । खाद्यान्न बालीमा धान, मकै र गहुँमात्रै नभई कोदो, कागुनो लगायत रैथाने बालीलाई राख्नसमेत जोड दिनुपर्ने उनको भनाइ छ । पछिल्लो समय पौष्टिक तत्वको महत्त्व आममानिसले बुझ्न थालेपछि रेस्टुरेन्ट, सरकारी कार्यालय, स्कुलहरूमा रैथाने बालीका परिकारको मागसमेत बढेको छ ।
समुद्र सतहबाट करिब ६० मिटरदेखि ५ हजार मिटर उचाइसम्मको क्षेत्रमा नेपाली रैथाने बाली पाइन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कोदो वार्षिक रूपमा २ लाख ६ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । सो क्षेत्रफलबाट ३ लाख मेट्रिक टनभन्दा बढी कोदो उत्पादन हुने तथ्याङ्क छ । यस्तै, फापर वार्षिक रूपमा १६ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ भने १९ हजार मेट्रिक टन उत्पादन हुन्छ । मन्त्रालयको तथ्याङ्क अनुसार कोदो उत्पादन केही बढेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा २ लाख ६२ हजार क्षेत्रफलमा ३ लाख २० हजार मेट्रिक टन कोदो उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७७÷०७८ मा २ लाख ६५ हजार हेक्टर क्षेत्रफलमा ३ लाख २६ हजार मेट्रिक टन उत्पादन भएको थियो । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा २ लाख ६७ हजार मेट्रिक टन कोदो उत्पादन भएको थियो । फापरको उत्पादन पनि केही बढेको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा १० हजार हेक्टर क्षेत्रफलमा ११ हजार मेट्रिक टन फापर उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६–०७७ मा १३ हजार हेक्टर क्षेत्रफलमा १६ हजार मेट्रिक टन फापर उत्पादन भएको मन्त्रालयले जनाएको छ ।