Trending
पछिल्लो समय पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको छ । ट्रेकिङ, माउन्टेनियरिङ, रिभर गाइड, हस्पिटालिटी, एयरलाइन्स हुँदै अन्य एडभेन्चरमा महिलाको सहभागिता बढेको सम्बन्धित निकायहरूले बताएका छन् । विभिन्न क्षेत्रलाई लिएर हेर्ने हो भने झण्डै २० प्रतिशत महिलाको सहभागिता पर्यटनमा रहेको नेपाल पर्यटन बोर्डको भनाई छ । बिहीबार बोर्डमा आयोजित परामर्श कार्याशालामा बोल्दै सम्बन्धित संघ संस्थाहरूका अधिकारीहरूले यस्तो बताएका हुन् । पर्यटनमा महिला सहभागिता,अवस्था, चुनौती र सम्भावना विषयमा परामर्श कार्याशाला गरिएको थियो । कार्यशालामा विभिन्न क्षेत्रका महिलाहरूको उपस्थिति रहेको थियो । कार्यशालामा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीका विज्ञ धर्म दवाडीले हालसम्म पर्यटन क्षेत्रमा गरेका कामहरूका बारेमा जानकारी गराएका थिए । नेपाल पर्यटन बोर्ड र युएनडिपीले पर्यटन क्षेत्रको पुनरूत्थानका लागि जीविकोपार्जन पुनरूत्थानका लागि दिगो पर्यटन नामको परियोजना ल्याएको थियो । परियोजनाले सहरसँगै विभिन्न ग्रामीण वस्तीका महिलाहरूलाई पर्यटन क्षेत्रमा ल्याउन विभिन्न तालिम सञ्चालन गरेको थियो । यस अवधिमा विभिन्न जिल्लाका नौ हजार सात जनाले तालिम लिएको दवाडीले बताए । दवाडीका अनुसार तालिम लिनेहरूमा करिब दुई हजार पाँच सय जना महिलाहरू छन् । उनका अनुसार पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढाउनका लागि परियोजनाले रिभर गाइड तालिम दिएको हो । त्यस्तै ट्रेकिङमा महिलाको सहभागिता बढाउनका लागि विभिन्न चरण बनाएर तालिम सञ्चालन गरिएको थियो । महिलाहरूलाई जुन क्षेत्रमा इच्छा छ त्यही क्षेत्रमा तालिम दिएको उन्को भनाई थियो । तालिम लिनेहरूमध्ये धेरैजना अहिले स्वरोजगार भइ सकेकाछन् ।
दवाडीका अनुसार परियोजनाले दिएको तालिम लिएर लाइन्सेस पाएका करिब तीन सय महिला अहिले ट्रेकिङ गाइड बनिसकेका छन् । त्यस्तै साढे दुई सयजना होमस्टेतिर लागेका छन् । विदेशी पर्यटकहरू नेपाल घुम्न आउँदा सहज बनाउने उद्देश्यले तालिम दिईएको हो । तालिमपछि लाइसेन्स लिएका महिलाहरूले पनि निःशुल्क यस्तो अवसर दिएको र रोजगारीको बाटोसम्म पु¥याएकोमा परियोजनालाई धन्यवाद व्यक्त गरेका थिए ।